एनसीएचएलको १७ औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौँ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो १७औँ वार्षिकोत्सव मनाइएको छ ।
हिजो पौष ८ गते डेपूटी गभर्नर बम बहादुर मिश्रको प्रमुख आतित्थमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरू, नेपाल बैंकर्स संघका अध्यक्ष, डेभलपमेन्ट बैंकर्स संघका उपाध्यक्ष, नेपाल वित्तीय संस्था संघका अध्यक्ष, एनसीएचलका पूर्व अध्यक्षहरू, वर्तमान अध्यक्ष र सञ्चालकहरुको उपस्थितिमा एक औपचारिक कार्यक्रमको आयोजना गरी मनाइएको हो ।
कार्यक्रममा अर्थ मन्त्रालय, नेपाल सरकारका विभिन्न निकाय तथा अध्यागमन विभागका पदाधिकरीहरु, नेपाल राष्ट्र बैंकका वरिष्ठ अधिकारीहरू, बैंक तथा वित्तीय संस्थाहरू, पीएसपी, पीएसओका प्रमुखहरू लगायत अन्य पदाधिकरीहरुको पनि विशेष उपस्थिति रहेको थियो ।
नेपाल राष्ट्र बैंक तथा बैंक वित्तीय संस्थाहरूको नेतृत्वमा एनसीएचएल नेपालमा विभिन्न राष्ट्रिय भुक्तानी, क्लियरिङ्ग र सेटलमेन्ट प्रणालीहरू स्थापना गर्न सञ्चालनमा आएको एनसीएचएलले प्रारम्भिक दिनमा म्यानुअल चेक क्लियरिङ्ग डिजिटाइज गर्न २०६८ मा NCHL–ECC को सुरुवात गरेर पछि नेपाल राष्ट्र बैंकको रणनीति अनुसार आधुनिक डिजिटल भुक्तानी प्रणालीहरू सञ्चालनमा ल्याएको हो ।
विगत १७ वर्षको यात्रामा, एनसीएचएलले NCHL-ECC, NCHL-IPS, Retail Payment Switch, connectIPS, CORPORATEPAY, connectRTGS, National Payments Interface (NPI), NEPALPAY QR, NPIx / EFT Card Switch कार्यान्वयन र सञ्चालन गर्दै आइरहेको छ । हाल नेशनल पेमेन्ट स्विच (एनपीएस) अन्तर्गत नेशनल कार्ड स्विच र NEPALPAY कार्डको commercial roll-out समेत गरेको कम्पनीले जानकारी दिएको छ ।
वार्षिकोत्सव कार्यक्रममा एनसीएचएलले यस वर्ष कम्पनीमा आफ्नो १० वर्ष पूरा गरेका कर्मचारी – छवी सापकोटा, हेड–पेमेन्ट सिस्टमलाई कम्पनी प्रतिको समर्पणको लागि दीर्घ सेवा पदकबाट सम्मानित गरिएको थियो । कार्यक्रममा एनसीएचएलका पूर्व अध्यक्ष अनिल केशरी शाह र अशोक शम्शेर ज।ब।रालाई एनसीएचएलको सञ्चालक समितिको स्थापक अध्यक्ष र तेस्रो अध्यक्षको रूपमा रही संस्था स्थापनाको लागि पुर्याएको अमूल्य योगदान तथा मार्गनिर्देशनलाई उच्च मूल्याकंन गर्दै डेपूटी गभर्नरबाट विशेष सम्मान पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा एनसीएचएलले विभिन्न इनोभेटिभ डिजिटल प्रोडक्ट तथा सोलुसनहरूको अनावरण पनि गरेको छ । कार्यक्रममा सिद्धार्थ बैंक लि. सँगको सहकार्यमा रिटेल ग्राहकहरूका लागि Digital Mobile Banking Solution, नबिल बैंक लि. सँगको सहकार्यमा CORPORATEPAY 2.0, माछापुच्छ्रे बैंक लि. सँगको सहकार्यमा Cards Central System तथा स्मार्ट चोइस टेक्नोलोजी सँगको सहकार्यमा Third Parties Net Settlement सार्वजनिक गरिएका छन् ।
एनसीएचएलले वार्षिकोत्सवको अवसरमा १३ वटा विधामा बैंक वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, सरकारी निकाय तथा गैर बैंक संस्थालाई विभिन्न विधा अन्तर्गत एक्सिलेन्स इन डिजिटल ट्रान्जेक्शनबाट सम्मानित गरेको छ । वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीबाट क्रमशः राष्ट्रिय वाणिज्य बैंक, गरिमा विकास बैंक र रिलायन्स फाइनान्सलाई ‘एक्सिलेन्स इन नेपालपे क्यूआर ट्रान्जेक्शन’ अवार्ड प्रदान गरिएको छ ।
त्यसैगरी, सिद्धार्थ बैंकलाई ‘एक्सिलेन्स इन इएफटी कार्ड सर्भिसेस्’ अवार्डबाट सम्मानित गरिएको छ । ‘एक्सिलेन्स इन अल्टरनेट डिजिटल च्यानल’ अवार्डबाट ग्लोबल आईएमई बैंकलाई सम्मानित गरिएको छ । नबिल बैंक ‘एक्सिलेन्स इन डिजिटाइजिंग बिज्नेसेस् विथ कर्पोरेटपे’ अवार्ड प्राप्त गर्न सफल भएको छ । नेपाल सरकारको खर्च र राजस्वको कारोबार डिजिटाइज गर्न विशेष भूमिका निर्वाह गर्ने बैंक वित्तीय संस्थाको रूपमा राष्ट्रिय वाणिज्य बैंकलाई र ई–भिषाको अनलाइन पेमेन्टका लागि अन्तर्राष्ट्रिय कार्ड पेमेन्ट गेटवे इनेबल गर्न खेलेको विशेष भूमिकालाई सम्मान गर्दै गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागलाई Special Recognition अवार्ड प्रदान गरिएको हो ।
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको इजाजतप्राप्त संस्था एनसीएचएलमा ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू सदस्यका रूपमा र १०० भन्दा बढी गैर–बैंक संस्थाहरू प्राविधिक सदस्यका रूपमा आबद्ध रहेका छन् । एनसीएचएलको प्रणालीहरूबाट गत आर्थिक वर्ष एनसीएचएलले ने रु १८६ खर्ब भन्दा बढीको २१ करोड १२ लाख भुक्तानी कारोबारहरू फर्छ्यौट गरेको थियो । भुक्तानी कारोबार संख्याको आधारमा सो संख्या ६७ प्रतिशतले र कारोबार रकमको आधारमा १९ प्रतिशत वृद्धि भएको हो ।








