मन्त्रीहरूद्वारा एमाले कार्यालय निरीक्षण

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, कानुन न्याय तथा संसदीय मामिला तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनालले संयुक्त रूपमा आज ललितपुर च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयको निरीक्षण गरेका छन् ।

जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको पार्टी कार्यालयको निरीक्षण गरेको सञ्चारमन्त्री खरेलले जानकारी दिए । अनुगमनपछि सञ्चारकर्मीसँग बोल्दै उनले निर्वाचनको वातावरण सरकारले मिलाउने भएकाले एमालेलाई निर्वाचन आउन आग्रह गरिएको बताए । उनले चुनावमा भाग लिने एमालेबाट आएको प्रतिबद्धता सरकारले सकारात्मक रूपमा लिएको बताए ।

उनले स्थान हदको विषय सरकारको आफ्नो कार्यक्षेत्र, विधि, प्रक्रिया र कानुन जे हुन्छ, त्यसको अधीनमा रहेर मिलाउनुपर्ने र सबै वातावरण मिलाएर सरकार अगाडि बढ्ने बताए । ‘हतियारहरू बाहिर छन् फिर्ता भए कि भएनन् । कैदीहरू अझै बाहिर छन् । भोट माग्न जान अवस्था छ कि छैन । राजनीतिक दललाई प्रचारप्रसारमा जानुपर्दछ त्यो अवस्था छ कि छैन । नेताहरूलाई भोट माग्न सहज रूपमा चुनावी अभियानमा जान सक्ने अवस्था छ कि छैन भनेर उहाँहरूले कुरा गर्नु भएको छ’, सञ्चारमन्त्री खरेलले भने, ‘सबै वातावरण मिलाउने भनेको छौँ ।’

उनले एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई लगाइएको स्थान हदका विषय जाँचबुझ छानबिन आयोग र सरकारले छुट्टाछुट्टै काम गरिरहेको बताए ।

सो क्रममा कानुनमन्त्री सिन्हाले निर्वाचनको वातावरण बनिरहेकाले एमाले पनि निर्वाचनमा सहभागी हुने बताए । भेटमा एमाले महासचिव शङ्कर पोखरेल, उपमहासचिवद्वय योगेश भट्टराई र रघुविर महासेठ सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 3 =