देशलाई अभिभावकको खाँचो छः शेखर कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले देशलाई एउटा अभिभावक आवश्यक रहेको बताएका छन् ।
कृष्णप्रसाद भट्टराईको १०२ औँ जन्मजयन्तीको अवसरमा काठमाडौँमा मङ्गलवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफूलाई संवैधानिक राजतन्त्रको पक्ष लिएर अघि बढ्न सुझाव आउने गरे पनि अब ढिला भइसकेको र आफू मात्रै लागेर नहुने बताए । उनले नेपाललाई राजनीतिक स्थिरता दिन आवश्यक रहेको बताए । उनले राष्ट्रियता र प्रजातन्त्र सँगै लैजान नसके नेपाल बाँच्न नसक्ने बताए ।
देशको राष्ट्रियता अत्यन्त नाजुक अवस्थामा रहेको बताउँदै प्रजातन्त्र, लोकतन्त्र छाडातन्त्रमा परिणत भइसकेको बताए । जेन–जी आन्दोलनमा नेपाली अनुहार भएपनि त्यसभित्रको रूप के थियो भन्नेकुरा बुझ्न जरुरी रहेको बताए ।
नेता कोइरालाले भने ‘अहिले नेपाललाई कसरी हामीले राजनीतिक स्थिरता दिन सकिन्छ रु अघि स्वामीजीले भन्नुभयो । एउटा गार्जेन चाहिन्छ भन्नेकुरा गर्नुभयो । किसुनजीले पनि भन्नुभयो र विपीजीले पनि राष्ट्रियता र प्रजातन्त्र सँगै लैजान सकेनौँ भने नेपाल बाँच्दैन भन्नेकुरालाई राष्ट्रिय मेलमिलापको नारा दिएर अघि बढ्नुभएको हो । राष्ट्रियता अत्यन्त नाजुक अवस्थामा छ । प्रजातन्त्र, लोकतन्त्र त छाडातन्त्रमा हामीले विकसित गरिसकेका छौँ । अहिलेको अवस्था जेन–जीको आन्दोलनमा नेपाली अनुहार त थियो, तर त्यो भित्र नेपाली अनुहार नै थियो की अरू कोही थिए भन्नेकुरा हामीले बुझ्नुपर्छ ।’
नेता कोइरालाले राजनीति गर्ने व्यक्तिमा नैतिकता र संस्कार जरुरी रहेको बताए । अहिले नेपालको राजनीतिमा लोकरिझ्याँईले प्राथमिकता पाएको बताए ।









