काठमाडौंका १०७ ‘झोले’ विद्यालयको अनुमति खारेजीको तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनुमति लिएर पनि व्यवहारतः सञ्चालनमा नरहेका विद्यालयहरूमाथि कडा निगरानी बढाएको छ । कागजी रूपमा दर्ता भए पनि भौतिक रूपमा अस्तित्व नभेटिएका महानगरभित्रका १०७ विद्यालयको अनुमति खारेज गर्ने प्रक्रिया महानगरले अगाडि बढाएको हो ।
महानगरको शिक्षा विभागले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै त्यस्ता विद्यालयका सञ्चालकहरूलाई १५ दिनभित्र विभागमा सम्पर्क गर्न ‘अल्टिमेटम’ दिएको छ । स्थलगत अनुगमनका क्रममा सञ्चालनमा नरहेको पाइएपछि महानगरले यस्तो कठोर कदम चालेको हो ।
गत साउन २८ गते बसेको नगर शिक्षा समितिको बैठकले अनुमति लिएर पनि बन्द अवस्थामा रहेका वा हराएका विद्यालयहरूको पहिचान गर्ने निर्णय गरेको थियो । सोही निर्णयको कार्यान्वयन स्वरूप गरिएको छानबिनमा १०७ वटा विद्यालयको भौतिक उपस्थिति फेला नपरेपछि महानगर एक्सनमा उत्रिएको हो ।
महानगरले सार्वजनिक गरेको सूचीमा परेका विद्यालयहरू यदि कतै सञ्चालनमा छन् भने तिनका प्रधानाध्यापक, सञ्चालक, व्यवस्थापक वा गुठीयारलाई तोकिएको १५ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । विभागले स्पष्ट पार्दै भनेको छ, ‘तोकिएको समयसीमाभित्र सम्पर्कमा आई विद्यालय सञ्चालनमा रहेको आधिकारिक पुष्टि गर्न नसकेमा त्यस्ता विद्यालयहरूको अनुमति खारेजीका लागि कार्यपालिका समक्ष सिफारिस गरिनेछ ।’










