महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सम्पन्न गरेको छ ।
बैंकले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास तथा दोस्रो त्रैमासको कार्तिक र मङ्सिर महिनामा उक्त कार्यक्रमहरू सम्पन्न गरेको हो ।
सोही अन्तर्गत बैंकले ज्येष्ठ नागरिक चौतारी, ठेचो, ललितपुरलाई सुदूरपश्चिम प्रदेशको हुम्ला जिल्लाका ज्येष्ठ नागरिकहरूको पूर्ण स्वास्थ्य परीक्षण सहितको स्वास्थ्य शिविर सञ्चालन गर्न तथा नसर्ने रोगहरूको रोकथाम सम्बन्धी कार्यशाला सम्पन्न गर्न आर्थिक सहयोग गरेको छ ।
त्यसैगरी भाद्र महिनामा आन्दोलनको क्रममा क्षतिग्रस्त भएको प्रहरी वृत्त सातदोबाटोलाई दैनिक प्रशासनिक कार्य गर्नको लागि ५ थान कम्प्युटर सेट तथा ५ थान टेबल बैंकले प्रदान गरेको छ ।
साथै हुम्ला जिल्लाको सदुरमुकाम सिमकोट देखी ४४ कोष दक्षिण पूर्वको अदानचुली गाउँपालिका वडा न. १ का ६५ घरधुरीका दलित समुदायमा रहेका हलिया, लगी र खलोको रूपमा जीविकोपार्जन गरिरहेको विपन्न वर्गका मानिसहरू, अनाथ बालबालिका, एकल महिला, एकल पुरुषहरूलाई खाद्यान्न पुर्याउने गरी एकीकृत सामुदायिक विकास तथा अनुसन्धान केन्द्र, सिमकोट, हुम्लालाई आर्थिक सहयोग गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बागलुङ्ग जिल्लामा रहेका भृकुटी माध्यमिक विद्यालय र श्री सल्यान सुखौरा माध्यमिक विद्यालय, झापा जिल्लामा रहेका श्री पृथ्वी माध्यमिक विद्यालय र श्री अरनिको माध्यमिक विद्यालय, श्री गणेशसुर्य आधारभूत विद्यालयमा अध्ययनरत छात्राहरूलाई सुरक्षित र सहज रूपमा शौचालय सुविधा प्रदान गर्नको लागि आधुनिक शौचालय निर्माण गर्ने गरी विभिन्न रोटरी क्लबहरू मार्फत बैंकले आर्थिक सहयोग गरेको जानकारी दिएको छ ।
साथै बालकुमारी आधारभूत विद्यालय, सैंबु, ललितपुरमा अध्ययनरत १८० जना विद्यार्थीहरूलाई जाडोबाट बच्नको लागि १८० थान न्यानो कपडा वितरण गरेको छ । त्यसैगरी गोरखा जिल्लाको विभिन्न विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई मुनलाईट सोसाइटी नेपाल, गोरखाको सहकार्यमा विभिन्न शैक्षिक सामाग्रीहरू वितरण गरिएको छ ।
बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरूबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास लिएको बैंकले जानकारी दिएको छ ।








