जेनजी प्रतिनिधि राउतले खोजिन् अन्तरजिल्ला मतदानबारे राजनीतिक दलहरूको धारणा

काठमाडौँ । जेनजी प्रतिनिधि भावना राउतले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्न तथा अन्तरजिल्ला मतदानको व्यवस्थाबारे राजनीतिक दलहरूको धारणा खोजेका छन् ।

सोमवार आसन्न प्रतिनिधि सभा निर्वाचनबारे गृहमन्त्रालयमा जारी सर्वपक्षीय छलफलमा बोल्दै उनले निर्वाचन आयोगले राजनीतिक सहमति नभएको जवाफ फर्काउने गरेको भन्दै अन्तरजिल्ला मतदानको विषयमा राजनीतिक दलहरूको धारणा खोजेका हुन् ।

अन्तरजिल्ला मतदान तथा विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने विषयमा निर्वाचन आयोगले राजनीतिक सहमति नभएको भन्दै पन्छिन थालेकोप्रति आपत्ति समेत जनाए । उनले जेन–जीहरूको मागहरू पूरा गर्ने सन्दर्भमा एकले अर्कोलाई जिम्मेवार बनाएर पन्छिन थालेको भन्दै आपत्ति जनाए ।

उनले भने ‘विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा अब त निर्वाचन आयोगले राजनीतिक सहमति छैन भन्न थालेको छ । त्यसो हो भने आज राजनीतिक दलको नेता पनि यहाँ हुनुहुन्छ, हामीले तपाईँहरूको सहमति छ भन्ने कुरा बुझेका छौँ । हिजो तपाईँहरू आफैँले पनि प्रस्ताव लिएर जानु भएको हो । त्यो अहिले विभिन्न परिस्थितिले गर्दा गर्न नसकिने होला तर अन्तरजिल्ला निर्वाचन जुन छ त्यसमा तपाईँहरूको सहमति छ कि छैन ? यदि छैन भने आम नागरिकले तपाईँहरूलाई कसरी मूल्याङ्कन गर्नुभएको हो त्यहीअनुसार गरेकै होला । त्यही भएर हामीलाई फुटबलको रूपमा खेल्न छोडिदिनुहोस् र हाम्रो मताधिकारको ग्यारेन्टी गरिदिनुहोस् ।’

उनले अन्तरजिल्ला मतदानको व्यवस्था गरी हजारौँ युवाहरूको मतदानको अधिकार सुनिश्चित गरिदिन आग्रह पनि गरे । अर्का जेन–जी प्रतिनिधि सागर ढकालले नीति प्रतिष्ठानको सुझावको आधारमा विदेशमा बसेका नेपाली नागरिकलाई समेत चुनाव सहभागी हुने व्यवस्था गर्नुपर्ने बताए ।

उनले घोषित मितिमै निर्वाचन सम्पन्न गर्नको लागि सरकार र सम्बद्ध निकायहरूले कार्यतालिकाअनुसार काम नगरिरहेको प्रति आपत्ति जनाए । उनले जेन–जीको मागअनुरूप निर्वाचन हुनुपर्नेमा जोड दिए ।

उनले मुलुकलाई विकास र समृद्धि दिन सबै राजनीतिक दल र सरकार जिम्मेवार भएर अगाडि बढ्नुपर्ने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 6 =