विराटनगरका क्यासिनोमा मध्यरातमा प्रहरी ‘अपरेशन’ : दुई प्रबन्धकसहित २० नेपाली पक्राउ

काठमाडौं । विराटनगरस्थित दुईवटा क्यासिनोमा प्रहरीले आइतबार मध्यरातमा विशेष छापा मारी २० जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको छ । कानुनतः नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा पूर्ण बन्देज भए पनि नियम उल्लंघन गर्दै जुवा खेलिरहेको र खेलाइरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले विराटनगरमा सञ्चालित बिग होटलस्थित ‘च्याम्पियन जोन क्यासिनो’ र रत्ना होटलभित्रको ‘गोल्डेन क्यासिनो’ मा एकसाथ छापा मारेको थियो । प्रहरीका अनुसार रत्ना होटलबाट १४ जना र बिग होटलबाट ६ जना गरी कुल २० जनालाई हिरासतमा लिइएको छ ।

पक्राउ पर्नेहरूमा क्यासिनोका उच्च व्यवस्थापकसमेत रहेका छन् । गोल्डेन क्यासिनोका महाप्रबन्धक लोकेन्द्रबहादुर बस्नेत र च्याम्पियन जोन क्यासिनोका व्यवस्थापक रामकृष्ण गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङकी प्रमुख एसपी कविता कट्वालले पक्राउ परेका सबै विरुद्ध जुवा ऐन अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको जानकारी दिइन् ।

विराटनगरका क्यासिनोहरूमा नेपालीहरूको सहज प्रवेशका कारण पछिल्लो समय आपराधिक गतिविधि र आपसी झडपका घटनाहरू बढ्दै गएका थिए । यसअघि गत चैत ३ गते रत्ना होटलको क्यासिनो परिसरमा दुई समूहबीच भएको कुटाकुटमा अभिषेक गिरी, किरण लामा र रोनाल कँडेल घाइते भएका थिए ।

त्यस्तै, २०८० पुस २८ गते बिग होटलको क्यासिनोमा जुवा खेल्ने क्रममा उत्पन्न विवादले उग्र रूप लिँदा खुकुरी हानाहान समेत भएको थियो । सो घटनामा रोनाल कँडेल गम्भीर घाइते भएका थिए । क्यासिनोभित्र नेपालीहरूको अनियन्त्रित प्रवेशले शान्ति सुरक्षामा चुनौती थपेको जनगुनासो बढेपछि प्रहरीले सक्रियता देखाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 2 =