गोकर्णेश्वर उत्तरवाहिनीमा तीर्थ श्राद्ध गर्नेको घुइँचो (तस्बिरहरू)

काठमाडौं । आज पौष औँसी, काठमाडौँको गोकर्णेश्वरमा रहेको कान्तिभैरव उत्तरवाहिनी (उत्तर गया) मा पितृ मोक्षका लागि श्राद्ध गर्नेको भीड लागेको छ ।

भारतको काशी, गयालगायतका धार्मिक तीर्थस्थलमा श्राद्ध गर्न जानुअघि यस ठाउँमा श्राद्ध गरेर गएमा पुण्य कमाइने धार्मिक विश्वास रहिआएको छ । यस कारण पनि यहाँ पौष औँसीका दिन श्राद्ध गर्नेको भीड लाग्ने गर्दछ ।

यस दिनलाई ‘गया मौनी दर्शश्राद्धम्’को नामले समेत चिनिन्छ । तीर्थश्राद्ध गर्दा श्रद्धालुले पितृ मोक्षका लागि जौको पिठोबाट बनाइएको पिण्डदान गर्ने गर्दछन् ।

उत्तर गया क्षेत्रको नामले प्रसिद्ध यस क्षेत्रमा पौष कृष्ण औँसीका दिन पितृलाई पिण्ड र तर्पण दिनाले सबै पितृहरू मोक्ष हुन्छन् भन्ने विश्वासका साथ हरेक वर्ष तीर्थालुहरूको यहाँ भीड लाग्ने गर्दछ । केही वर्षअघि पूर्वराजा ज्ञानेन्द्र शाहले पनि यहाँ आएर तीर्थ श्राद्ध गरेका थिए ।

भारतवर्षका चार गयामध्ये भारतमा तीन गया छन् भने नेपालमा रहेको एक गया ‘उत्तर गया’ हो । आजै नुवाकोटको बेत्रावतीमा पनि श्राद्ध गर्ने भक्तजनको भीड लाग्ने गर्दछ । बेत्रावती क्षेत्र पनि उत्तर गयाकै नामले प्रसिद्ध छ ।

तस्बिरहरू :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + seven =