मतगणना स्थलमा नतिजाको व्यग्र प्रतीक्षा (तस्बिरहरू)

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनको मतदान प्रक्रिया सकिएसँगै अब सबैको ध्यान मतपरिणामतिर सोझिएको छ । बिहीबार बिहान सवा ७ बजे मतदान सकिए पनि मुचुल्का उठाउने र प्रक्रियागत तयारीका कारण १० बजेको हाराहारीबाट सुरु भएको मतगणनाको नतिजा सुन्न नेता तथा कार्यकर्ताहरू मतगणना स्थल वरपर व्यग्र प्रतीक्षामा छन् ।

रातभर जाग्राम बसेर मतदान गरेका प्रतिनिधिहरू र नतिजाको पर्खाइमा रहेका शुभेच्छुकहरूको बाक्लो उपस्थिति मतगणना स्थलमा देखिन्छ । नयाँ नेतृत्व चयनका लागि विद्युतीय मेसिनमार्फत मतदान भएकाले नतिजा छिटो आउने आशामा, अनिदो अनुहार लिएरै भए पनि कार्यकर्ताहरू परिणाम सुन्न डटेर बसेका छन् । कसले बाजी मार्ला भन्ने कौतूहल र चुनावी सरगर्मीले मतगणना स्थलको माहोल तताएको छ ।

एमाले केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलका अनुसार, प्राविधिक र प्रक्रियागत काम (मुचुल्का तथा उम्मेदवारका प्रतिनिधिबिचको सहमति) सकिए लगत्तै गणना कार्य तीव्र पारिएको छ । आयोगले अबको तीन घण्टाभित्र सम्पूर्ण मतपरिणाम सार्वजनिक गर्ने लक्ष्य राखेको छ । १० वटा समूह बनाएर डाटा रिट्राइभ सुरु गरिएको छ भने एकपटकमा ८ वटा मेसिनको परिणाम हेर्दै सबै पदको नतिजा एकैपटक सार्वजनिक गर्ने तयारी आयोगले गरेको छ ।

बुधबार बिहान ९ बजेदेखि सुरु भई आज (बिहीबार) बिहान ७ बजेसम्म चलेको ‘मराथन’ मतदान प्रक्रियामा कुल २ हजार २ सय ६३ मतदातामध्ये २ हजार २ सय २७ मत खसेको निर्वाचन आयोगले जनाएको छ । यस निर्णायक घडीमा ३६ जना मतदाता भने अनुपस्थित रहे ।

यस महाधिवेशनमा खासगरी अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबिचको प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ । त्यस्तै, पार्टी संगठनको ‘कि-पोस्ट’ मानिने महासचिवमा शंकर पोखरेल र सुरेन्द्र प्रसाद पाण्डेबिचको कडा टक्करले नतिजालाई थप रोचक बनाउने अनुमान कार्यकर्ता पङ्क्तिमा भइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + fifteen =