इस्लिङ्टन कलेजका दुई विद्यार्थीलाई १.५ करोड रुपैयाँभन्दा बढीको अन्तर्राष्ट्रिय छात्रवृत्ति

काठमाडौं । इस्लिङ्टन कलेजले स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरूलाई दीक्षित गर्दै ललितपुरस्थित द प्लाजा होटलमा दुईदिने भव्य दीक्षान्त समारोह सम्पन्न गरेको छ ।

दीक्षान्त समारोहलाई विद्यार्थीहरूको लामो शैक्षिक यात्राको समापन र व्यावसायिक जीवनको औपचारिक सुरुवातको प्रतीकका रूपमा हेरिन्छ । यसले उनीहरूले आर्जन गरेको ज्ञान, सीप र अनुशासनले भविष्यमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको कलेजले जनाएको छ ।

समारोहमा स्नातक तहका बीएससी (अनर्स) कम्प्युटिङ, कम्प्युटर नेटवर्किङ एण्ड आईटी सेक्युरिटी, मल्टिमिडिया टेक्नोलोजी, बीए (अनर्स) बिजनेस एडमिनिस्ट्रेशन, इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट, डिजिटल बिजनेस म्यानेजमेन्ट, एड्भर्टाइजिङ एण्ड मार्केटिङ तथा इभेन्ट्स एण्ड टुरिजम म्यानेजमेन्ट कार्यक्रमका विद्यार्थीहरू दीक्षित भएका थिए । त्यस्तै, स्नातकोत्तर तहका एमएससी आईटी, एमबीए र एप्लाइड सेक्युरिटी कार्यक्रमका विद्यार्थीहरूले पनि दीक्षा प्राप्त गरे ।

कलेजले वार्षिक दीक्षान्तमा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गर्ने परम्परालाई यस वर्ष पनि निरन्तरता दिएको छ । यसैक्रममा प्रतिष्ठित इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति र इन्टरनेशनल स्टुडेन्ट हाउस तथा लन्डन मेट्रोपोलिटियन विश्वविद्यालय छात्रवृत्ति वितरण गरिएको थियो ।

यस वर्षको इन्टरनेशनल स्टुडेन्ट हाउस तथा लन्डन मेट्रोपोलिटियन विश्वविद्यालय छात्रवृत्ति अनुष नेपाल र अंगना भट्टराईलाई प्रदान गरिएको छ । करिब १.५ करोड रुपैयाँभन्दा बढी मूल्यको यो छात्रवृत्तिले ट्युसन शुल्क, आवास खर्च र दुवैतर्फी हवाई टिकट समेट्छ ।

त्यस्तै, इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति अम्स घिमिरे र आयेशा नकर्मीलाई दिइएको छ । यी विद्यार्थीले समूहअन्तर्गतका कलेजमा स्नातकोत्तर अध्ययन गर्नुका साथै संस्थामा रोजगारीको अवसर पाउनेछन् ।

समारोहमा विभिन्न विषयमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पनि सम्मान गरियो । सम्मानित हुनेमा एमबीएबाट आशुतोष राजभण्डारी, बीएससी (अनर्स) कम्प्युटर नेटवर्किङ तथा आईटी सेक्युरिटीबाट अम्स घिमिरे, मल्टिमिडिया टेक्नोलोजीबाट साहस शाक्य, कम्प्युटिङबाट क्षितिज श्रेष्ठ, आईटी अन्तिम वर्ष परियोजनामा प्रशिदिका तिवारी, कम्प्युटिङ विथ आर्टिफिसियल इन्टेलिजेन्सबाट प्रशिदिका तिवारी, कम्प्युटिङ विथ मोबाइल एप्लिकेशन डेभलपमेन्टबाट प्रयत्न राजकर्णिकार, बिजनेस एडमिनिस्ट्रेशनबाट अनुष नेपाल तथा अकाउन्टिङ एण्ड फाइनान्सबाट प्रतीक्षा गुरुङ छन् ।

२५ वर्षभन्दा बढी समयदेखि सूचना प्रविधि र व्यवसाय प्रशासन क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम सञ्चालन गर्दै आएको इस्लिङ्टन कलेजले लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयसँगको सहकार्यमा उच्चस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । कलेजले विश्वव्यापी प्रतिस्पर्धामा सफल दक्ष जनशक्ति उत्पादन गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =