एमाले महाधिवेशन

भृकुटीमण्डपमा बिहानैदेखि चुनावी सरगर्मी, भोट माग्न व्यस्त कार्यकर्ता (तस्बिरहरू)

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको निर्णायक घडी आइपुगेको छ । मंगलबार बिहानैदेखि महाधिवेशन स्थल भृकुटीमण्डपमा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । बन्दसत्र स्थल बाहिर प्रतिनिधि तथा कार्यकर्ताहरू आ–आफ्ना नेताको पक्षमा माहोल बनाउन र भोट माग्न व्यस्त देखिएका छन् ।

सर्वसम्मतिको प्रयास सफल नभएपछि नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित चुनावी मैदानमा आमने–सामने भएका छन् । अध्यक्षमा मात्र होइन, महासचिवमा शङ्कर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डेबीचको ‘हेभीवेट’ टक्करदेखि उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यसम्म कडा प्रतिस्पर्धा हुने भएपछि महाधिवेशनको रौनक थप पेचिलो बनेको छ ।

नेतृत्व चयनका लागि आजै मतदान हुँदैछ । निर्वाचन आयोगले दिउँसो १ बजेदेखि मतदान सुरु हुने जनाए पनि उम्मेदवारको अन्तिम नामावली र तस्बिर भोटिङ मेसिनमा सेटिङ गर्न समय लाग्ने भएकाले प्रक्रिया केही लम्बिन सक्ने देखिएको छ । निर्वाचनलाई हाई–टेक र व्यवस्थित बनाउन ‘रामलक्ष्मण इनोभेसन’का ८० वटा विद्युतीय भोटिङ मेसिन (इभिएम) प्रयोगमा ल्याइँदै छ ।

देशभरबाट आएका २ हजार २ सय ६३ प्रतिनिधिले मताधिकार प्रयोग गर्नेछन् । उम्मेदवारको लामो सूचीका कारण विद्युतीय विधि अपनाइए पनि एकजना मतदातालाई मतदान गर्न करिब २५ देखि ३० मिनेट लाग्ने अनुमान आयोगले गरेको छ ।

चुनावी रस्साकस्सीकै बीच १७ जना नेता भने निर्विरोध निर्वाचित भइसकेका छन् । निर्वाचन कमिटीका अनुसार अनुशासन र लेखा आयोगका ६ जना पदाधिकारीसहित विभिन्न क्लस्टरबाट ११ जना केन्द्रीय सदस्य मतदान प्रक्रियाविनै नेतृत्वमा चयन भएका हुन् । जसमा लेखा आयोगको अध्यक्षमा डा. पुष्पराज कँडेल र अनुशासन आयोगको अध्यक्षमा प्रा.डा. भरतराज पहारी निर्विरोध भएका छन् ।

तस्बिरहरू :- 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − two =