बैंकिङ कसुरमा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ

काठमाडौं । गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन् ।
बैंकिङ कसूरमा ठगी, आपराधिक विश्वासघात गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शाक्यलाई पक्राउ गरेको हो । शाक्यलाई जावलाखेलस्थित भनिमण्डलबाट पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
यहि प्रकरणमा यसअघि प्रभु बैंक लिमिटेडका कार्यकारी अधिकृत अशोक शेरचन लगायतका उच्च अधिकारीहरु पक्राउ परिसकेका छन् ।
ब्यूरोले कुसुम लामा लगायत संलग्न व्यक्तिहरूको विरुद्ध चलिरहेका अनुसन्धानका क्रममा शेरचनसमेतले नेपाल राष्ट्र बैंकको निर्देशन विपरित निर्णय गरी बैंकलाई हानि–नोक्सानी पुर्याएको पाइएको थियो ।
सोही अनियमितता लुकाउन विभिन्न कम्पनीको नाममा करोडौँ रकम कर्जा प्रवाह गरी दुरुपयोग गर्न गराउने कार्यमा थप व्यक्तिहरू संलग्न रहेको पुष्टि भएपछि उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिइएको हो ।








