बिराटनगर इन्टरनेशनल कलेजको दीक्षान्त समारोह सम्पन्न

काठमाडौं । बिराटनगर इन्टरनेशनल कलेजले आइतबार इटहरीस्थित सोल्टी वेस्टेन्डमा आयोजना गरेको वार्षिक दीक्षान्त समारोह–२०२५ उत्कृष्ट उपस्थिति र आकर्षक कार्यक्रमसहित सम्पन्न भएको छ । कलेजले यस वर्षका स्नातकहरूको शैक्षिक उपलब्धि, समर्पण र मेहनतलाई सम्मानित गर्दै दीक्षान्त समारोह सम्पन्न गरेको हो ।
यस वर्ष ६४ जना विद्यार्थीले स्नातक उपाधि हासिल गरेका छन्, जसमा ५४ जना BSc (Hons) International Business Management र १० जना BSc (Hons) International Hospitality Management का विद्यार्थी रहेका छन् । कलेजका अनुसार यी विद्यार्थीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धात्मक करियर यात्रामा अघि बढ्न सक्षम बनेका छन् ।
मुख्य अतिथिका रूपमा उपस्थित इनोभेट नेपाल ग्रुपका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीले स्नातकहरूलाई बधाई दिँदै परिवर्तनकारी सोच, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वसहित व्यावसायिक यात्रामा अघि बढ्न प्रेरणा प्रदान गरे ।
कार्यक्रममा कलेजको शैक्षिक साझेदार युनिभर्सिटी अफ वोल्भरह्याम्पटनका प्रतिनिधिले पनि विशेष उपस्थिति जनाउँदै स्नातकहरूको अनुशासन, प्रतिबद्धता र मेहनतको प्रशंसा गरे ।
उनले कलेज र विश्वविद्यालयबीचको सुदृढ शैक्षिक साझेदारीकै कारण विद्यार्थीहरूले गुणस्तरीय र प्रभावकारी शैक्षिक उपलब्धि हासिल गरेको बताए ।
बिराटनगर इन्टरनेशनल कलेजका अध्यक्ष तथा व्यवस्थापन टोलीले स्नातक–२०२५ लाई हार्दिक बधाई दिँदै, उनीहरूले नेपालको व्यवस्थापन, उद्यमशीलता, आतिथ्य सेवा तथा विश्वव्यापी अवसरहरूको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रम आकर्षक व्यवस्थापन, उत्साहपूर्ण वातावरण र स्नातकहरूको खुशीपूर्ण सहभागितासहित सफलतापूर्वक सम्पन्न भएको कलेजले जनाएको छ ।









