एनपिएलको उद्घाटन खेल ‘डिशहोम गो’बाट २ लाखभन्दा बढीले हेरे

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) २०२५ को उद्घाटन खेलमा डिशहोम गो एपले एकै समयमा २ लाखभन्दा बढी दर्शकलाई प्रत्यक्ष प्रसारण उपलब्ध गराउँदै नयाँ कीर्तिमान बनाएको छ ।

प्रत्यक्ष हेर्ने दर्शक संख्यालाई ‘कन्क्युरेन्ट भ्युवरशिप’ भनिन्छ, जसले डिशहोम गो को प्रविधिक क्षमता र तयारीलाई पुष्टि गरेको कम्पनीले जनाएको छ ।

उद्घाटन दिन जनकपुर बोल्ट्स र काठमाडौं गोर्खा बीचको रोमान्चक खेल हेर्न खोज्ने केही प्रयोगकर्ताले भने केही प्राविधिक असुविधा भोग्नुपरेको थियो । यो समस्या केवल डिशहोम गो एपको कमजोरी नभई, एनपिएल सिजन पास सदस्यता खरिद प्रक्रियामा देखिएका प्रणालीगत जटिलताका कारण उत्पन्न भएको प्राविधिक टोलीको भनाइ छ । विशेषगरी आइओएस् प्रयोगकर्ताले बढी समस्या भोगेका थिए, जबकि एन्ड्रोइड प्रयोगकर्ताले सहजै सदस्यता लिएर खेल हेर्न सकेका थिए ।

डिशहोम गो का इन्जिनियर तथा अन्तर्राष्ट्रिय प्राविधिक साझेदारहरू निरन्तर समस्या समाधानमा खटिएपछि पहिलो दिनकै ठूलो हिस्सा समाधान भएको थियो । दोस्रो दिनदेखि भने आइओएस् प्रयोगकर्ताले पनि सहजै सिजन पास खरिद गरी प्रत्यक्ष खेल हेर्न सक्ने अवस्था बनेको कम्पनीले जनाएको छ ।

दोस्रो र तेस्रो दिनका खेलसम्म आइपुग्दा जथाभावी देखिएका प्राविधिक चुनौतीहरू लगभग पूर्ण रूपमा समाधान भइसकेका छन् । डिशहोम गो का अफिसियल च्यानलमार्फत आएका हजारौं अनुरोधहरूलाई प्रणालीमार्फत एकैपटक सक्रिय गरिएको र दोहोरो भुक्तानी भएमा रकम फिर्ता प्रक्रिया सुरु गरिएको कम्पनीले जनाएको छ।

यसबाहेक, प्रयोगकर्तालाई थप सहजता प्रदान गर्न बुधबारबाट खल्ती र इसेवा मार्फत एनपिएल सिजन पासका भौचर खरिद गर्न सकिने व्यवस्था गरिएको छ। यी भौचर नेपालभित्र मात्र प्रयोग गर्न मिल्ने छन् भने उपभोक्ताले जतिसक्दा धेरै भौचर खरिद गर्नसक्ने सुविधा उपलब्ध गराइएको छ। यसले परिवार तथा साथीभाइसँग मिलेर मोबाइलमार्फत एनपिएल हेर्न झनै सहज बनाउने बताइएको छ।

डिशहोम गो ले यसपटकको प्रसारण व्यवस्थालाई नेपालमै पहिलोपटक पूर्ण रूपमा मोबाइल एपमार्फत प्रत्यक्ष खेल प्रसारण गर्ने ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गरेको छ। कम्पनीका अनुसार यसप्रकारको अत्याधुनिक मोवाइल स्ट्रिमिङ क्षमता अब अन्तर्राष्ट्रिय स्तरमा पनि प्रतिस्पर्धी बन्ने दिशामा अघि बढिसकेको छ।

कम्पनीका आधिकारिक प्रवक्ताले भने “हामीले सामना गरेका प्राविधिक चुनौतीहरू हाम्रो मात्र नभई, विभिन्न संलग्न पक्षहरूको प्रक्रियासँग सम्बन्धित थिए । यसै कारण पहिलो दिन सबै प्रयोगकर्तालाई सहज अनुभव दिन विभिन्न कठिनाई हुँदा निशुल्क हेर्ने व्यवस्था गर्दा करिब २ लाख दर्शकहरुले सजिलै हेर्न पाएका थिए। दोस्रो र तेस्रो दिनदेखि सबैले पूर्ण रूपमा सदस्यता लिएर प्रत्यक्ष प्रसारण हेर्न सक्ने स्थिति आएको छ । हामी यस उपलब्धिलाई नेपाली प्रत्यक्ष प्रसारण क्षेत्रमा ऐतिहासिक उपलब्धि मान्छौं । यस क्रममा दर्शक महानुभावहरुमा पर्न गएको असुबिधा प्रति क्षमायाचना गर्दै यहाँहरुको दोहोरिएको भुक्तानी रकम फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गर्दछौ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − five =