स्वास्थ्य स्वयंसेविकाको अधिकार र सेवा सुविधा सुनिश्चित गर्न पब्लिक सर्भिस इन्टरनेसनल सक्रिय

काठमाडौं । पब्लिक सर्भिस इन्टरनेसनल (पिएसआई)ले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने तथा नियमित सेवा सुविधा उपलब्ध गराउन अभियानलाई तीव्र पारेको छ ।

लामो समयदेखि समुदायमा स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई संगठित गर्दै उनीहरूको आवाज सशक्त बनाउन प्रयासरत रहेको पिएसआईले जनाएको छ ।

पब्लिक सर्भिस इन्टरनेसनलले बुधवार एक कार्यक्रमको आयोजना गर्दै काठमाडौं जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत स्वास्थ्य स्वयंसेविकाहरुसँग अन्तरक्रिया समेत गरेको छ ।

पिएसआईकी स्वास्थ्य सहजकर्ता नविना लुइँटेलले स्वयंसेविकाहरूको अधिकार र सेवा सुविधा सुनिश्चित गर्न आफूहरू सक्रिय रहेको बताइन् । उनका अनुसार संस्थाले नेपालसहित पाकिस्तान, भारत र फिलिपिन्समा सामुदायिक स्वास्थ्यकर्मीको हक अधिकारका लागि सक्रिय रूपमा अभियान सञ्चालन गरिरहेको छ । उनले स्वास्थ्य स्वयंसेविकाहरूलाई संगठित गर्दै उनीहरूले आवाज सशक्त बनाउन संस्था लागिपरेको दाबी समेत गरिन् ।

उनले भनिन्, ‘पिएसआईले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई कसरी सामाजिक सुरक्षामा जोड्ने र कसरी रेगुलाइजेसनमा जोड्ने भन्ने कुरामा हाम्रो कार्यक्रमहरू गरिरहेका छौं । हामीले मुख्यतः विभिन्न देशहरूमा नै स्वंयसेविकाहरुलाई संगठित गर्ने कार्यमा सक्रिय छौं । उहाँहरूलाई संगठित बनाउँदा उहाँहरूका मागहरू सम्बोधन हुने सम्भावना हुने भएकोले पिएसआईले यस कुरामा जोड दिएको छ । हामीले नेपालमा मात्र नभएर पाकिस्तान, भारत र फिलिपिन्समा समेत पब्लिक हेल्थ वर्करको हक र अधिकारको लागि काम गरिरहेका छौं । पिएसआईकै कारण पाकिस्तानमा सामुदायिक महिला स्वयंसेविकाहरूको हक अधिकारका कुराहरूले आधिकारिकता पाएको अवस्था छ । तर नेपालमा उहाँहरूले गरेको कामको सम्मान पनि भएको अवस्था छैन । उहाँहरूले दिनरात काम गर्नेभएपनि उहाँहरूको श्रमको सम्मान भएको छैन । विश्व स्वास्थ्य संगठन लगायत अन्तर्राष्ट्रिय संस्थाहरूले समेत सम्मान दिइसकेको अवस्थामा नेपालले नेपाली महिला स्वास्थ्यकर्मीहरुले कामको सम्मान नपाउने स्थिति भएको हुनाले हामी निरन्तर उहाँहरुसँग काम गरिरहेका छौं ।’

नेपाल स्वास्थ्य स्वयंसेवी संघकी केन्द्रिय सदस्य भवानी अधिकारीले सुरुवाती वर्षहरूमा स्वयंसेविकाहरुले कुनै सेवा–सुविधा नपाएको भए पनि बिस्तारै मागहरू सम्बोधन हुन थालेको बताइन् ।

उनले केही स्थानीय तहहरूमा कार्यरत स्वास्थ्य स्वयंसेविकाको समेत आधारित सामाजिक सुरक्षा लागू हुन थालेको बताइन् । देशभरका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन आफूहरू लागिपरेको उनको भनाइ छ ।

उनले भनिन्, ‘म २०५४ सालदेखि नै स्वास्थ्य स्वयंसेविका भएर काम गरिरहेकी छु । पहिले हामीले कुनै पनि सेवा सुविधा नपाएको थियो । पछिल्लो समय स्वास्थ्य स्वयंसेवी संघ र पिएसआईमा सहभागी भएदेखि हाम्रा मागहरू उठाउन थालेका छौं । हामीले आफ्ना मागहरू सम्बन्धित निकायमा पुर्‍याउनको लागि एउटा संगठनको आवश्यकता पर्दो रहेछ । पहिले हामीले एक्लै एक्लै माग राखेर हिँड्दाखेरी कसैले पनि सुनुवाई गर्दैनथ्यो । पछिल्लो समय स्थानीय सरकार आइसकेपछि केही पालिकाहरूमा हकमा समेत योगदानमा आधारित सामाजिक सुरक्षा समेत लागु भएको छ । हामीले देशभरका सबै स्थानीय तहहरूमा कार्यरत समुदायमा आधारित महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न आवाज उठाइरहेका छौं ।’

चन्द्रागिरी नगरपालिकामा कार्यरत स्वास्थ्य स्वयंसेविका वसन्ती महर्जनले नगरपालिका कार्यरत स्वयंसेविकाहरूले महिनाको चार हजार रुपैयाँ पारिश्रमिक पाउने र अवकाशमा जाँदा एक लाख ७५ हजार रुपैयाँ सुविधा दिने निर्णय भएको बताइन् ।

उनले भनिन्, ‘हामीले गरेको कामको मूल्याङ्कन गरेर अवकाश भइसकेपछि पनि केही सेवा सुविधा दिनुपर्‍यो भने माग गरिरहेका छौं । अहिले हामी चन्द्रागिरी नगरपालिकामा स्वास्थ्य स्वयंसेविका भइसकेपछि हामी महिनाको चार हजार रुपैयाँ पाउन सफल भएका छौं । र अवकाशमा जाँदा एक लाख ७५ हजार रुपैयाँ सुविधा दिने निर्णय गरेका छन् ।’

पिएसआईकाअनुसार नेपालमा ५० हजारभन्दा बढी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू कार्यरत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 11 =