कोटीलिङ्गेश्वर महादेव मन्दिर क्षेत्रमा सिसिटिभी जडान

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको कोटीलिङ्गेश्वर महादेव मन्दिर क्षेत्र सफाइ गरी व्यवस्थित बनाइएको छ ।
उक्त मन्दिर क्षेत्रका बारेमा धार्मिक, सामाजिक अभियानकर्मी प्रकाश रायमाझीले सामाजिक सञ्जालमार्फत श्रव्यदृश्य सामग्री सार्वजनिक गरेपछि नेपाली सेना र प्रहरीले सफाइ गरेको स्थानीयवासी किशोर नेवाले जानकारी दिए ।
नेपाली सेना र नेपाल प्रहरीले यस क्षेत्रको सफाइ गरेपछि रायमाझीकै अग्रसरतामा काठमाडौँ महानगरपालिकाले यहाँ बत्तीसमेत जडान गरिदिएको छ ।
महानगरपालिकाले सिसिटिभीसमेत जडान गरेपछि यहाँ फोहर गर्नेलाई समातेर कानुनी कारबाही गर्न सजिलो हुने भएको छ ।
यसअघि मन्दिर क्षेत्रमा बत्ती नभएकाले बेलुकी भएपछि कालभैरवको मूर्ति नजिकैको कोल्टोमा रहेको यो मन्दिरमा फोहर गर्ने गरेका थिए । बत्ती जडान गरेर उज्यालो देखिन थालेपछि फोहर गर्नेहरु हच्किन थालेका हुन् ।
काशी जान नसक्नेले काठमाडौँमै काशी विश्वनाथ बाबाको दर्शन गर्न सकून् भनेर प्रताप मल्लले कोटीलिङ्गेश्वर महादेव मन्दिर स्थापना गरेको इतिहास छ । त्यसबेला कोटीलिङ्गेश्वर महादेवमा भाकल गरेपछि मात्रै कालभैरव अगाडि मुद्दा छिन्ने चलन थियो ।
अहिले पनि कानुनका विद्यार्थीले कोटीलिङ्गेश्वर महादेव मन्दिरलाई कोटलिङ अदालत भनेर पढ्ने गरेको जनाइएको छ ।
रायमाझीले मन्दिर क्षेत्र सफाइ गराइ बत्तीको व्यवस्था गराएपछि भक्तजनको ध्यान पनि त्यसतर्फ जान थालेको छ । जीर्ण अवस्थामा रहेको मन्दिरको जीर्णोद्धार पनि गरिदिने उनको प्रतिबद्धता छ ।
पुरातात्विक महत्वका सम्पदास्थलमा सुरक्षा निकायले गस्ती गरी मलमूत्र त्याग गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन सुरक्षा निकायसँग माग गरिएको पनि अभियानकर्मी रायमाझीले जानकारी दिए ।
काठमाडौँ महानगरपालिका–२४ का वडाध्यक्ष विनोदकुमार राजभण्डारी कालभैरव मूर्ति नजिकैको मन्दिरमा गर्ने गरिएको फोहरका बारेमा वडा कार्यालयको ध्यानाकर्षण भएकाले यसलाई व्यवस्थित गराउन लागिपर्ने बताउँछन् ।
महानगरपालिकाले गठन गरेको हनुमानढोका दरबार क्षेत्रका सम्पदा संरक्षण उपसमितिको संयोजकसमेत रहेका उनले स्थानीय सरकारका तर्फबाट नियमित अनुगमन गरिने बताए ।








