नाम दर्ता गराउन मतदाता उत्साहित

महोत्तरी । महोत्तरीमा दीपावली, छठ, धातृनवमी सामाचकेवा र कात्तिक पूर्णिमासहितका चाडबाड सकेपछि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउने बढेका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि असोज १० गतेदेखि नै नाम दर्ता खुले पनि अहिले चाडबाड सकिएपछि दर्ता गर्ने बढेका छन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाका अनुसार फागुन २० गतेसम्म १८ वर्ष पुग्ने र यसअघि फोटो खिचाएर नाम दर्ता गर्न छुटेका व्यक्ति चाडबाडपछि उल्लेख्य सङ्ख्यामा आउन थालेका छन् । ‘चाडबाड सकिएपछि मतदातामा उत्साह देखिएको छ’, उनले भने ।

जिल्लामा असोज १० यता कात्तिक २० गतेसम्म दुई हजार ३४१ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम समावेश गराएका छन् । यीमध्ये दीपावली, छठ सकेपछि एक हजार ४३९ जनाले नाम दर्ता गराएका हुन् ।

जिल्लामा २०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनयता हालसम्म गरेर १६ हजार २६८ नयाँ मतदाता थपिएका छन् । यीमध्ये १३ हजार ९२७ जना भने २०७९ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनयता गत असार १६ गतेसम्म अद्यावधिक भएका हुन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ मा जिल्लामा तीन लाख ९१ हजार ५७७ मतदाता थिए । त्यसयता गत असार १६ सम्मका १३ हजार ९२७ र असोज १० यता बिहीबारसम्म दुई हजार ३४१ मतदाता थपिएका निर्वाचन अधिकारी झाले बताए ।

‘हामीले निर्वाचन आयोगको परिपत्रअनुसार गत असोज ९ गतेदेखि २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पुग्नेहरुको फोटो खिचाएर मतदाता नामावलीमा नाम समावेश गरी रहेका छौँ,’ झाले भने ‘यसै अभियानभित्र त्रुटि सच्याउने र नाम बसाइ सारेको ठाउँमा सार्ने काम पनि सँगसँगै बढेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =