मंसिर पहिलो हप्तामा राष्ट्रिय भेला गर्छौंः घनश्याम भुसाल

काठमाडौँ । माओवादी केन्द्रसँगको एकता प्रक्रियामा असन्तुष्ट रहेका नेकपा ९एकीकृत समाजवादी० का महासचिव घनश्याम भुसालले मंसिर पहिलो हप्तामा राष्ट्रिय भेला गर्ने बताएका छन् ।
काठमाडौँमा बुधवार पत्रकार सम्मेलनको आयोजना गरी उनले सो जानकारी दिएका हुन् ।
पार्टीको बहुमत केन्द्रीय समितिले माओवादीसँग आत्मा समर्पण गरेको उनको भनाई छ । केन्द्रीय समितिको बहुसंख्याले आत्मसर्मपन गरेपनि जिल्ला तहमा भने आफूहरूको बहुमत रहेको उनको दाबी छ । उनले राजनीतिक रूपमा एकीकृत समाजवादी पार्टी क्रियाशील रहने बताए ।
उनले स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय समिति, प्रदेश, जिल्ला, विभिन्न विभागमा रहेका धेरै साथीहरू समाजवादीमा नै रहने पनि उल्लेख गरे । उनले समाजवादीमा रहेकाहरूको मंसिर पहिलो साता भेला आयोजना गरी त्यहीबाट अगाडीको बाटो तय गर्ने पनि जानकारी दिए ।
उनले भने ‘यो धेरै सुखद् कुरा हो । केन्द्रीय समितिको बहुसंख्या अहिले गएर आत्मसमर्पण गरेपनि एउटा टिम बाँकी छ, पदाधिकारीमा कम होला, स्ट्यान्डिङ कमिटीमा अलिकति होला । पोलिटव्यरोमा अलि बढी साथी छौँ । केन्द्रीय समितिमा त्यो सङ्ख्या बढ्छ र जिल्लामा कुरा गर्ने हो भने अहिले हामी बहुमतमा छौँ । त्यो चाहिँ हामीले निःसन्देह भन्न सक्छौँ । हामी प्रमाणित गरेर देखाउन सक्छौँ । कानुनी रूपमा जेसुकै होला, राजनीतिक रूपमा आफ्नै ठाउँमा रहनुहोला । जिल्ला कमिटी छन्, प्रदेश कमिटी छन्, पदाधिकारी छन्, गाउँ कमिटी छन् । विभागहरू छन्, जनसङ्गठनहरू छन् । तिनीहरू नै वैधानिक हुन है, अहिले हाम्रो लागी राजनीतिक रूपले तिनीहरू वैधानिक हुन् । आफ्नै ठाउँमा नेकपा एकीकृत समाजवादी कै रूपमा रहेर क्रियाशील रहिरहनुहोला । हामी आउने मंसिर पहिलो हप्तासम्म राष्ट्रिय भेला गर्छौ । त्यो राष्ट्रिय भेलामा ती क्रान्तिकारीहरू जम्मा हुनेछन् र अब कसरी जाने भन्ने कुरा हामीले त्यहीबाट लोकतान्त्रिक हिसाबले छलफल गरेर हामीले हाम्रो बाटो तय गर्नेछौँ ।’
उनले कम्युनिस्ट पार्टीको पुनर्गठनको अभियानमा धेरै समूह जोडिँदै जाने विश्वास समेत व्यक्त गरे ।








