सुनसरीमा अविरल वर्षाले जनजीवन कष्टकर, दोहोरो मारमा परे अन्नदाता

सुनसरी । सुनसरीका किसान यतिबेला प्रकृतिको दोहोरो मारमा परेका छन् । करिब एक महिनाअघि असोज १८ गतेबाट सुरु भएको अविरल वर्षाको कहरबाट भर्खरै तंग्रिन नपाउँदै, गएरातिदेखि पुनः सुरु भएको झरीले उनीहरूको जनजीवन थप कष्टकर बनाएको छ ।
लगातारको वर्षाले पाक्न लागेको धान, मकै, तरकारी तथा अन्य नगदेबालीमा व्यापक क्षति पुर्याएको भन्दै किसानहरूले आफूहरू दोहोरो मारमा परेको बताएका छन् । विशेषगरी भोक्राहा नरसिंह, इनरुवा, हरिनगर, देवानगञ्ज र बराहक्षेत्र वरपरका कृषि क्षेत्रमा वर्षाको प्रभाव बढी देखिएको छ । यहाँका खेतहरू पोखरीमा परिणत भएका छन् भने भर्खरै पाक्न लागेका र कटनीको मुखमा पुगेका धानबाली रगडिने, बोटमै पलाउने र बोट ढल्ने समस्याले किसानको चिन्ता चुलिएको छ ।
कृषि ज्ञान केन्द्र सुनसरीले वर्षाबाट भएको क्षतिको विवरण संकलन गर्ने कार्य सुरु गरेको जनाएको छ । लामो समयदेखिको वर्षा र त्यसबाट उत्पन्न डुबानले सुनसरीका किसानको जीविकोपार्जनमा गम्भीर चुनौती थपेको छ ।








