रुग्ण ठेक्काको व्यवस्थापनमा सरकार सकारात्मक: अध्यक्ष सिंह

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले रुग्ण ठेक्काहरूको व्यवस्थापनमा सरकार सकारात्मक देखिएको बताएका छन् ।

बिहीबार अर्थमन्त्री रामेश्वर खनालसँगको भेटपछि सञ्चारकर्मीहरुसंँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष सिंहले रुग्ण ठेक्काहरूमा निर्माण व्यवसायीहरूले चाहेर पनि काम गर्न नसकिरहेको बताए । विभिन्न ऐन, कानुन र नियमहरूले बाधा पुर्याएको, राष्ट्र बैकको ऐनअनुसार खाता सञ्चालनमा समस्या र कालोसूचीमा परेका जेभी पार्टनरहरूको कारणले रुग्ण ठेक्काहरूमा समस्या उत्पन्न भएको बारेमा अर्थमन्त्रीको ध्यानाकर्षण गराएको उनले जानकारी दिए ।

उनकाअनुसार हाल विभिन्न मन्त्रालय, विभाग र कार्यालयहरूले ठेक्का अन्त्य गर्ने आशयका सूचना जारी गरिरहेका छ । यसले आर्थिक क्षेत्रलाई गम्भीर असर पार्ने भएकाले तत्काल समाधान खोज्न पनि आग्रह गरिएको उनले बताए ।

उनले सार्वजनिक खरिद ऐनको दफा ५९ (८) अन्तर्गत ठेक्का अन्त्य गर्ने प्रावधानलाई निलम्बन वा खारेज गर्नुपर्ने सुझाव दिएको बताए । अध्यक्ष सिंहकाअनुसार अर्थमन्त्री खनालले निर्माण क्षेत्रका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिँदै ठेक्का अन्त्यका विषयमा सरोकारवालाहरुसंगको छलफल पश्चात् विवेकपूर्ण निर्णय लिने आश्वासन दिएका छन् ।

बैंक तथा वित्तीय संस्थाहरूले ग्यारेन्टी क्लेम बुझाउन नसक्ने अवस्था आउन नदिन, सार्वजनिक निक्षेप सुरक्षित राख्न र आर्थिक गतिविधि अवरुद्ध हुन नदिन पनि पहल गर्ने प्रतिबद्धता जनाएको अध्यक्ष सिंहको भनाई छ ।

उनले भने ‘सरकारका विभिन्न विकासे मन्त्रालयले, विभाग र कार्यलयहरुले ठेक्का अन्त्य गर्ने आशयको सूचनाहरू प्रकाशित गरेको छ र त्यसको प्रभावको विषयमा उहाँले गम्भीरतापूर्वक लिएर सार्वजनिक खरिद ऐनको दफा ५९ को ८ मा भएको व्यवस्थालाई निलम्बन वा खारेज गरेर मात्रै हामीले ठेक्का अन्त्य गर्ने र विगतको लामो समयदेखि गैरजिम्मेवारीपूर्ण हिसाबले कार्यालयले, प्रोजेक्टले ठेक्कालाई निरन्तरता दिइरहेको छ, त्यस्ता ठेक्काहरूलाई अन्त्य गर्ने विषयमा पनि उहाँ एकदमै सकारात्मक हुनुभयो । अहिले हामीले उहाँसँग राखेको कुरामा चाहिँ उहाँले बढी गम्भीरतापूर्वक लिएर यो समस्याहरूलाई सम्बोधन गरेर मात्रै अगाडी बढ्न सकिन्छ, नत्रभने मुलुकका सम्पूर्ण आर्थिक गतिविधिहरू प्रभावित हुने, बैक तथा वित्तीय संस्थाहरू चाहिँ त्यो बैंक ग्यारेन्टी क्लेमलाई बुझाउन नसक्ने अवस्थामा हुने र पब्लिकको डिपोजिटमा पनि असर पर्ने कुराहरूलाई उहाँले गम्भिरतापुर्वक लिनुभयो । रुग्ण रहेको ठेक्काहरूमा चाहिँ जुन हिसाबले हामीले काम गर्न चाहँदा पनि विभिन्न ऐन कानुन नियमहरूले बाधा पुयाएको, राष्ट्र बैकको ऐनअनुसार खाता सञ्चालनमा भएको अवरोध, कालोसूचीमा परेको जेभी पाटृनरको कारणले गर्दाखेरि कामलाई चाहेर पनि अगाडी बढाउन नसकेको कुरालाई पनि गम्भीरतापूर्वक लिएर राष्ट्र बैकसँग छलफल गरेर यी कुराहरूको निकास दिने भनेर उहाँले प्रतिबद्धता जनाउनुभएको छ । यसरी आजको भेटघाटबाट रुग्ण रहेका ठेक्काहरूलाई सही पहिचान गरेर त्यसको व्यवस्थापन गर्ने कुरामा सरकार सकारात्मक देखिएको छ ।’

सरकारले हाल लामो समयसम्म अलपत्र रहेका आयोजनाहरूको ठेक्का तोड्ने प्रक्रिया अगाडी बढाएको छ । ठेक्का तोड्दा रुग्ण आयोजनाहरूमा निर्माण व्यवसायीहरूलाई सहुलियत दिनुपर्ने महासंघले माग राख्दै आएको छ । यस्तै निर्माण सम्पन्न हुन लागेका आयोजनाहरूमा एक पटकलाई म्याद थप गर्नुपर्ने महासंघको माग छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =