डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो ‘नेपाल लाइफ इन्स्योरेन्स’

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले इक्रा नेपालबाट डबल ए माइनस रेटिङ प्राप्त गरेको छ ।

यस श्रेणीमा पर्ने संस्थाहरूलाई अत्यन्तै उच्च स्तरको सुरक्षित र वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतायुक्त मानिन्छ । यो रेटिङ प्राप्त गर्ने नेपाल लाइफ इन्स्योरेन्स जीवन बीमा क्षेत्रमै पहिलो जीवन बीमा कम्पनी बनेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो वित्तीय स्थायित्व, बलियो बजार स्थिति र समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमताका आधारमा इक्रा नेपालबाट डबल ए माइनस क्रेडिट रेटिङ प्राप्त गरेको हो ।

सन् २००१ मा स्थापित कम्पनीले हाल देशभर १९० भन्दा बढी शाखा सञ्चालन गर्दै आ.व. २०८१/८२ को असार मसान्त सम्ममा कुल बीमा शुल्कको हिसाबले २७ प्रतिशत भन्दा बढी बजार हिस्सा कायम गर्न सफल भएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार कम्पनीको सोल्भेन्सी अनुपात १५०.४० प्रतिशत रहेको छ जुन नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम अनुपात भन्दा बढी हो । कम्पनीले करिब ९४ प्रतिशत लगानी स्थिर ब्याज दिने उपकरणहरूमा गरेको छ, जसले असार मसान्त सम्ममा औसत १०.०२ प्रतिशत प्रतिफल प्रदान गरेको छ ।

आ.व. २०८०/८१ मा कम्पनीले रु. २.१२ अर्ब खुद नाफा आर्जन गरेको थियो भने शेयरधनी कोषमा १८ प्रतिशत प्रतिफल रहेको थियो । नेपाल लाइफले आफ्नो जोखिम सन्तुलन गर्न नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, हिमालयन पुनर्बीमा लिमिटेड र ह्यानोभर रि ९जर्मनी०सँग पर्याप्त पुनर्बीमा गरी आकस्मिक क्षतिबाट हुने सुरक्षा सुनिश्चित गरेको जनाएको छ ।

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले डबल ए माइनस रेटिङ प्राप्त गरेकोमा कम्पनीलाई यस रेटिङ प्राप्त गर्न प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गरे । साथै कम्पनीले आफ्नो वित्तीय स्थायित्वलाई झन् सबल र सुदृढ बनाउनका निम्ति जोखिम न्यूनीकरणका उपकरणहरूको अधिकतम प्रयोग गर्ने तथा लगानी विविधीकरणलाई प्राथमिकतामा राख्दै लगानीको प्रतिफललाई स्थिर र उच्च बनाउन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय असल अभ्यासहरूको प्रयोग गर्न कम्पनी कटिबद्ध रहेको बताए ।

प्रमुख कार्यकारी अधिकृत पराजुलीले कम्पनीलाई मार्ग निर्देशन प्रदान गर्ने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू, कम्पनीमा विश्वास गरी बीमा गर्नुहुने बीमितहरु, कम्पनीको मेरुदण्डको रूपमा रहेका अभिकर्ताहरू, कम्पनीका कर्मचारीहरू, शेयरधनी महानुभावहरू, नियामक निकायहरू तथा सहयोग गर्नुहुने अन्य सम्पूर्ण सरोकारवालाहरूमा धन्यवाद ज्ञापन गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + nine =