स्वास्थ्यकर्मीको पारिश्रमिक ज्ञान, सीप र अनुभवका आधारमा हुनुपर्ने अफिनको माग

काठमाडौं । एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) ले स्वास्थ्यकर्मीको पारिश्रमिक ज्ञान, सीप र अनुभवलाई आधार बनाएर निर्धारण गर्न माग गरेको छ । अफिनले विज्ञप्ति जारी गर्दै ७ बुँदे माग सार्वजनिक गरेको हो ।
अफिनले स्वास्थ्य र शिक्षा क्षेत्रलाई राष्ट्रिय प्राथमिकतामा राख्ने नीति लिनुपर्नेमा जोड दिएको छ । साथै, निजी अस्पताल र शिक्षण संस्थासम्बन्धी निर्देशिका संशोधन गर्दा अफिनको अनिवार्य सहभागिता सुनिश्चित गर्न र समन्वयका लागि सम्बन्धित मन्त्रालयमा छुट्टै कक्षको व्यवस्था गर्न पनि माग गरेको छ । विपन्न र असहाय बिरामीको पहिचानका लागि स्पष्ट मापदण्ड बनाउनुपर्ने र सक्षम निजी अस्पतालहरूलाई स्वास्थ्य शिक्षण कार्यक्रम सञ्चालनका अवसर दिनुपर्ने पनि अफिनको मागमा उल्लेख छ ।
अफिनले निजी स्वास्थ्य क्षेत्रले हाल ४०१ अस्पतालमार्फत २० हजार शैय्यामा स्वास्थ्य सेवा प्रदान गर्दै करिब एक लाखभन्दा बढी जनशक्तिलाई प्रत्यक्ष रोजगारी सिर्जना गरेको बताएको छ । साथै, राष्ट्रको कुल जनसंख्याको ६५ प्रतिशतलाई आधुनिक तथा प्रविधिमैत्री स्वास्थ्य सेवा दिँदै आएको पनि विज्ञप्तिमा उल्लेख छ । अध्यक्ष पदमबहादुर खड्काले हस्ताक्षर गरेर जारी गरिएको विज्ञप्तिमा स्वास्थ्यकर्मीहरूले पारिश्रमिकको विषयलाई लिएर केही मेडिकल कलेजमा आन्दोलन गरेका घटनाप्रति अफिनले चिन्ता व्यक्त गरेको छ ।









