मैथिल समुदायमा छठ पर्वको तयारी सुरु

काठमाडौँ । मैथिल समुदायमा हर्षोल्लासपूर्वक मनाउने छठ पर्वको तयारी सुरु भएको छ ।
अन्नकुट तथा गोधन पर्व र भ्रातृद्वितिया पर्व सम्पन्न भए लगत्तै मैथिल समुदायले पारिवारिक सुख समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठपर्वको तयारी सुरु गरेका हुन् ।
छठ पर्वका लागि अहिले जनकपुरधामका पोखरीहरूलाई सरसफाइ तथा सजावटको कार्य सुरु भएको छ भने बजारमा पनि पूजा सामग्री किन्नेहरूको चहलपहल बढेको छ । यस पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्न बजारमा चहल पहल बाक्लो छ । आदिदेव सूर्य भगवानलाई अघ्र्य दिन मिथिलाञ्चलको नदी, तलाउ, पोखरी, ईनार लगायतको जलाशयको किनारमा घाट बनाएर विशेष रूपले श्रृंगारिदै छ । खास गरी जनकपुरधामको धार्मिक तथा ऐतिहासिक पोखरीहरू गंगासागर, धनुष सागर, अंगराजसर, दशरथ तलाउ लगायतका पोखरीहरूलाई नवदुलहीझैँ सजाइँदैछ ।
जनकपुरधामको प्रसिद्ध गंगासागर, धनुष सागर तथा अंगराज सर पोखरीमा मात्रै ११ हजारभन्दा बढी श्रद्धालुहरू छठ पूजा गर्ने गर्छन् । जनकपुरधामका साथै तराई मधेसका गाउँगाउँमा रहेका पोखरीहरूलाई समेत छठ पर्वलाई लिएर सरसफाइका साथै सजाउने कार्य भइरहेको छ ।








