कागती खेतीबाट ३ लाख कमाउँछन् भोजपुरका घिमिरे

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका-४ बस्तिमका ४० वर्षीय नवराज घिमिरे व्यावसायिक कागती खेतीबाट राम्रो आम्दानी गरिरहेका छन् । उनले कागती बेचेर वार्षिक करिब तीन लाख रुपैयाँ कमाउने बताए । 

अहिले घिमिरेको १० रोपनी जग्गामा ३५० भन्दा बढी कागतीका बोट छन् । ‘म व्यावसायिक रूपमा कागती खेतीमा लागेको छु,’ उनले भने, ‘अहिले वार्षिक दुईदेखि तीन लाख रुपैयाँ आम्दानी गरिरहेको छु। नयाँ बिरुवाहरू पनि लगाएको छु, ती हुर्किएपछि आम्दानी अझ बढ्नेछ।’

छ वर्षअघि फलफूल खेती सुरु गरेका घिमिरेले कागतीसँगै सुन्तला र एभोकाडोको खेती पनि विस्तार गरेका छन्। एक पटक लगानी गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएकाले आफू बहुवर्षीय बालीमा केन्द्रित भएको उनको भनाइ छ।

“एक पटक विस्तार गरेपछि दीर्घकालसम्म आम्दानी लिन सकिने बहुवर्षीय बाली खेती विस्तारमा जोड दिएको छु,” उनले भने, “कागतीसँगै सुन्तला र एभोकाडोको पनि खेती गरिरहेको छु।”

गाउँपालिका अध्यक्ष किरण राईका अनुसार पौवादुङमाको माटो र हावापानी फलफूल खेतीका लागि उपयुक्त भएकाले किसानहरू बहुवर्षीय बाली प्रणालीमा आकर्षित भइरहेका छन्। गाउँपालिकाले ‘एक घर, एक फलफूल’ कार्यक्रम सञ्चालन गरेर फलफूल खेतीमा लगानी गरिरहेको उनले बताए।

“पौवादुङमामा माटो सुहाउँदो खेती प्रणालीमा जोड दिएका छौँ,” अध्यक्ष राईले भने, “यहाँ धेरै किसान बहुवर्षीय खेती प्रणालीमा लागेका छन्। गाउँपालिकाले पनि आवश्यक प्रोत्साहन र सहयोग गर्दै आएको छ।”

गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बहुवर्षीय खेती प्रणालीबाट किसानले दिगो आम्दानी लिन सक्ने भएकाले गाउँपालिकाले सहयोग गरिरहेको बताइन्। किसानलाई भूगोलअनुसारको खेती प्रविधिमा जोड दिइएको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + eight =