निजी अस्पतालप्रतिको सरकारी हेपाहा दृष्टिकोण बदल्नुपर्छ : कुमार थापा

काठमाडौं । अल्का अस्पतालका अध्यक्ष कुमार थापाले नेपालमा भूकम्प, कोभिड, बाढीपहिरो र सडक अवरोधजस्ता विपत्तिका बेला निजी अस्पतालहरूले सधैँ साथ दिएको बताएका छन् । उनले सरकारलाई पूर्वाधार मापदण्डमा परिमार्जन गर्न सुझाव दिएका छन् । यस्तै स्वास्थ्य बीमा कार्यक्रमबापत पाउने रकमको भुक्तानी प्रक्रियालाई छिटो तथा पारदर्शी बनाउन सुझाव दिएका छन् । अन्तरिम सरकारप्रति अपेक्षा व्यक्त गर्दै उनले निजी क्षेत्रलाई प्रोत्साहन दिन नीतिगत सुधार आवश्यक रहेको पनि बताए ।

सरकारी अस्पतालमा मात्र सीमित ‘भ्रमण नीति’को विरोध
“निजी अस्पतालमा बिरामी छैनन् जस्तो व्यवहार किन ?”

अध्यक्ष थापाले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनमा घाइते भएकाहरूको उद्धार तथा उपचारमा निजी अस्पतालहरूले गरेको योगदान बिर्सन नहुने बताएका छन्। तर विपत्तिमा सरकारलाई सघाएका अस्पतालहरूमाथि सरकारले भेदभावपूर्ण व्यवहार गरेको आरोप उनले लगाएका छन्।

उनले भने, “सरकारले सरकारी अस्पतालमा मात्रै बिरामी भेट्न जाने प्रोटोकल अपनाइरहेको छ। यसले निजी स्वास्थ्य संस्थाप्रति विभेदकारी दृष्टिकोण राखेको देखिन्छ।”

देशमा विपत्तिको अवस्थामा निजी स्वास्थ्य संस्थाले उत्तिकै भूमिका निर्वाह गरेको उल्लेख गर्दै थापाले यस्ता बेला निजी अस्पतालमा पनि सरकारी ध्यान पुग्नुपर्ने बताएका छन्।

“जेन जी आन्दोलनका घाइते बिरामी हाम्रो अल्का अस्पतालमा २२ जना थिए। यस्ता घाइते बिरामी अन्य निजी अस्पतालमा पनि थिए/छन्। तर सरकारी वा अन्तरिम सरकारका पदाधिकारीहरू सरकारी अस्पतालमा मात्र भिजिट गर्न जान्छन्। निजी अस्पतालमा आउँदैनन्। यसले हामीलाई हतोत्साह गर्छ। हाम्रा अस्पतालमा रहेका बिरामी भेट्न आउँदा हाम्रो हौसला बढ्छ, बिरामीको पनि आत्मबल मजबुत हुन्छ र छिट्टै निको हुने सम्भावना बढ्छ। तर यो विभेदको नीति किन? अन्तरिम सरकार होस् वा चुनावी सरकार, यसमा स्पष्टता चाहिन्छ।” उनले भने।

अन्तरिम सरकारलाई सुझावः स्वास्थ्य पूर्वाधारमा व्यवहारिक सोच आवश्यक

अध्यक्ष थापाका अनुसार अस्पताल तथा स्वास्थ्य पूर्वाधारसम्बन्धी मापदण्डमा पुनरावलोकन र परिमार्जन अत्यावश्यक छ। नेपालमा निजी क्षेत्रको लगानी उल्लेखनीय छ। देशका विभिन्न स्थानमा साना, मध्यम र ठूला निजी अस्पतालहरू सञ्चालनमा छन्। तर संरचनागत बन्देज, अनुपयुक्त मापदण्ड र अव्यवहारिक नीतिका कारण धेरै अस्पतालहरू पूर्ण क्षमतामा सेवा दिन असमर्थ छन्। नेपाल सरकारले लागू गरेको मापदण्ड मुख्यतः भारतबाट ‘कपी–पेस्ट’ गरिएको उनको भनाइ छ। भौगोलिक तथा जनसांख्यिक भिन्नताका कारण भारतको मापदण्ड नेपालमा उपयुक्त नहुने तर्क उनले गरे। नेपालमा घना बस्तीबीच अस्पताल बनाउनुपर्ने बाध्यता छ। अस्पतालको उचाइ, तलासम्म जाने स्पेस आदिका मापदण्डलाई नेपालको परिप्रेक्ष्यमा परिमार्जन गर्नुपर्नेमा अध्यक्ष थापाले जोड दिएका छन्।

उनले भने, “भारतमा २३–३० वटा राज्य र १ अर्ब ४० करोड जनसंख्या छ। नेपालमा ७ वटा प्रदेश र ३ करोड जनसंख्या मात्र छ। यहाँ स्पेस कम छ, घना बस्ती छ। त्यसैले अस्पतालको उचाइ, तलासम्म जाने स्पेस आदिका मापदण्डलाई नेपालको परिप्रेक्ष्यमा परिमार्जन गर्नुपर्छ। काठमाडौं वा अन्य शहरलाई सुहाउँदो गरी वैज्ञानिक र व्यवहारिक मापदण्ड बनाउनु पर्छ।”

आवश्यकताभन्दा बढी नियम, अपारदर्शी प्रक्रिया र एकीकृत सोचको अभावले स्वास्थ्य पूर्वाधार विस्तार रोकिएको उनको जिकिर छ। यसले सम्भावित लगानीकर्ताको मनोबल भत्काएको छ। थापाले अन्तरिम सरकारलाई स्थान र सन्दर्भमा आधारित नेपाली अनुरूप मापदण्ड तयार पार्न सुझाव दिएका छन्।

प्रशासनिक प्रक्रिया छिटो र पारदर्शी बनाउनुपर्छ

अध्यक्ष थापाले स्वास्थ्य सेवा संस्थाको नवीकरण प्रक्रियालाई छिटो, छरितो र नियमित बनाउन आग्रह गरेका छन्। नेपालका धेरै स्वास्थ्य संस्थाहरू ढिलासुस्तीका कारण समस्यामा छन्। उनकै अल्का अस्पतालको नवीकरण दुई वर्षदेखि अड्किएको छ। यसले डायलाइसिस सेवाको फिर्ता रकम रोकिएको छ। जसले बिरामी र अस्पताल दुवैलाई नकारात्मक असर पुर्‍याएको छ।

निजी क्षेत्र मात्र होइन, अर्धसरकारी र सरकारी अस्पतालहरू पनि यस्तै समस्यामा छन्। धुलिखेल अस्पतालजस्ता उदाहरणीय संस्थासमेत सरकारी ढिलासुस्ती र नीतिगत अस्पष्टताबाट प्रभावित छन्। स्वास्थ्य बीमाअन्तर्गत भुक्तानी ढिलाइ हुँदा अस्पतालहरूको नियमित सेवामा कठिनाइ भएको उनले बताएका छन्।

उनले भने, “नवीकरण छिटो गरिदिनुपर्छ। दुई वर्षदेखि अड्किएको छ, डायलाइसिसको पैसा रोकिएको छ। एम्बुलेन्स दर्ता पनि अड्किएको छ। स्वास्थ्य बीमाको भुक्तानी समयमै नआउँदा सरकारी, अर्धसरकारी र निजी सबै अस्पताल चलाउन गाह्रो भएको छ। धुलिखेलजस्तो राम्रो अस्पताल पनि प्रभावित छ। सरकारले समयमै भुक्तानी व्यवस्था गर्नुपर्छ। स्टाफ तलब, औषधि र सामग्री खरिदका लागि पैसा चाहिन्छ। अनुगमन र नीतिगत स्पष्टता चाहिन्छ।”

अन्तरिम सरकारले ६ महिनाभित्र यी सुधार गर्दा स्वास्थ्य क्षेत्रलाई राहत पुग्ने अपेक्षा थापाले व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − fourteen =