इलाममा बाढीपहिरोको वितण्डा : १७ जनाको ज्यान गयो, बेपत्ताको खोजी जारी

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोले इलाममा ठूलो धनजनको क्षति पुर्‍याएको छ । जिल्लाका विभिन्न स्थानमा गएको पहिरोमा परी हालसम्म १७ जनाको ज्यान गएको पुष्टि भएको छ भने केही बेपत्ता छन् ।

इलाम, सूर्योदय, देउमाई नगरपालिका, माङसेबुङ र फाकफोकथुम गाउँपालिकामा मानवीय क्षति बढी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । इलाम नगरपालिका-६, घोसस्थित डम्बर बहादुर तामाङको घर पहिरोले पुरिँदा घरभित्र रहेका ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । उक्त क्षेत्रमा सशस्त्र प्रहरी बलको श्रीअन्तु गणबाट खटिएको उद्धार टोलीले शवहरू निकालेको थियो ।

यसैगरी सूर्योदय नगरपालिका-१, मानेभञ्ज्याङ्गमा राजु क्षेत्रीको घर पहिरोले भत्काउँदा ५ जनाको मृत्यु भएको छ । घर भत्किएको ठाउँबाट ४ जनाको शव निकालिएको थियो भने गम्भीर घाइते अवस्थामा उद्धार गरिएका १ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा सशस्त्र प्रहरी नायव निरीक्षक सुरेन्द्र डोटेलको कमाण्डमा ७ जनाको टोलीले उद्धार कार्य गरेको थियो ।

इलामको देउमाई नगरपालिका-५, घुसेनीस्थित दीपक लिम्बुको घर पहिरोले पुर्दा २ जनाले ज्यान गुमाएका छन् । यसैगरी सोही स्थानबाट ३ जना बेपत्ता भएका छन् भने १ जनालाई सकुशल उद्धार गरिएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।

माङसेबुङ गाउँपालिका-५, पार्टीगाउँमा मदन लिम्बुको घर पहिरोले पुरिँदा ३ जनाको मृत्यु भएको छ । यस्तै, फाकफोकथुम गाउँपालिका-३, रातोमाटे बस्ने ३२ वर्षीय सुरेश लिम्बुको पनि पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेको र बेपत्ताहरूको खोजी भइरहेको सम्बन्धित निकायले जनाएका छन् । मृतकका परिवारजनलाई समवेदना प्रकट गर्दै स्थानीय सरकारले राहत उपलब्ध गराउने तयारी गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 7 =