राष्ट्रिय सभाका पूर्वअध्यक्ष तिमिल्सिनाले फिर्ता गरे गाडी

काठमाडौं । राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफूले प्रयोग गर्दै आएको संसद सचिवालयको सरकारी गाडी फिर्ता गरेका छन् ।
गाडी फिर्ता नगरेको भन्दै आलोचना खेपिरहेका तिमिल्सिनाले उक्त गाडी जिल्ला प्रशासन कार्यालय कास्कीमा बुझाएका हुन् ।
तिमिल्सिनाले फिर्ता गरेको सवारी बा.सी. ३७३८ नम्बरको हो । उनले राष्ट्रिय सभाका अध्यक्षका रूपमा कार्यरत रहँदा यो गाडी प्रयोग गरेका थिए ।
सरकारले हालैको मन्त्रिपरिषद् बैठकमार्फत सेवानिवृत्त राजनीतिक तथा प्रशासनिक पदाधिकारीहरूले प्रयोग गरिरहेको सरकारी सवारी र अन्य सुविधाहरू फिर्ता गर्न निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार संसद सचिवालयले समेत पत्राचार गर्दै तिमिल्सिनालाई गाडी फिर्ता गर्न अनुरोध गरेको थियो ।
संसद सचिवालयका अनुसार तिमिल्सिनालाई गत चैतमै पत्र पठाइएको भए पनि उनले त्यसबेला प्रतिक्रिया दिएका थिएनन् । गाडी फिर्ता नगरेको विषय सार्वजनिक भएपछि आलोचना चुलिएको थियो ।








