पूर्वी नेपालको लाइफलाइन बीपी राजमार्ग २४सै घण्टा सञ्चालनमा

काठमाडौं । यस वर्षको मनसुन सकिनै लाग्दा र चाडपर्वहरू नजिकिएसँगै यात्रुहरूको सुविधालाई ध्यानमा राख्दै बीपी राजमार्ग आजदेखि चौबीसै घण्टा सञ्चालनमा आएको छ । मनसुन अवधिको जोखिमलाई मध्यनजर गर्दै गत असारदेखि रातिको समयमा बन्द गरिँदै आएको यस राजमार्ग अब निर्बाध रूपमा खुल्ला हुने भएको आएको हो ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुन बाहिरिने क्रममा रहेको तथा दसैं, तिहारलगायतका चाडपर्वहरूलाई लक्षित गरी सडक सुरक्षा कार्ययोजनाबमोजिम राजमार्ग चौबीसै घण्टा सञ्चालन गर्ने महत्त्वपूर्ण निर्णय गरेको हो ।

गत असार पहिलो सातादेखि बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेलदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म रातिको १२ घण्टा सवारी आवागमनमा पूर्ण रोक लगाइएको थियो । मनसुनका कारण बाढीपहिरोको जोखिम उच्च देखिएकाले यात्रुहरूको सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको थियो । गत वर्ष असोजमा आएको बाढीपहिरोले बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको वर्षेखोलासम्मको करिब आठ किलोमिटर सडक पूर्ण रूपमा बगाएपछि अस्थायी रूपमा सवारी सञ्चालनको व्यवस्था मिलाइएको थियो ।

राजमार्गको कुल १६० किलोमिटरमध्ये सिन्धुलीको खुर्कोटबाट नेपालथोकसम्म ३४ किलोमिटर र नेपालथोकबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किलोमिटरका विभिन्न स्थानमा क्षति पुगेको थियो । यस वर्ष पनि मनसुन अवभर सुरक्षा समितिले थप १५-१५ दिन गरेर राति सवारी सञ्चालनमा रोक लगाउँदै आएको थियो ।

क्षतिग्रस्त राजमार्गको स्थायी निर्माणका लागि कार्यालयले चार खण्डमा ठेक्का प्रक्रिया अघि बढाएको छ । आजदेखि राजमार्ग चौबीसै घण्टा खुलेसँगै चाडपर्वको समयमा हुने चहलपहल र यात्रुहरूको आवागमन थप सहज र सुरक्षित हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 4 =