देश र जनताको हितको लागि हामी एक भएर अगाडि बढ्नुपर्छ : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङले सुशीला कार्कीलाई नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा नियुक्त भएकोमा हार्दिक बधाई ज्ञापन गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले देश हाल अत्यन्त गम्भीर मोडमा उभिएको भन्दै वर्तमान परिस्थितिको संवेदनशीलतामाथि प्रकाश पारेका छन् । घिसिङले देश र जनताको हितका लागि सबै नेपाली एक भएर सहयोग गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । उनकाअनुसार, यो समय व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय एकता प्रदर्शन गर्ने बेला हो ।
उनले थप भनेका छन्, ‘जेन्जी पुस्ताले सुरु गरेको आन्दोलनको माग र आकाङ्क्षालाई सम्बोधन गर्दै आगामी चुनाव सम्पन्न गर्नु यस सरकारको प्रमुख दायित्व हो ।’ घिसिङले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारलाई सफलताको कामना गर्दै आगामी दिनमा जनचाहनाअनुरूप काम गर्न प्रेरणा मिलोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् ।








