प्रधानमन्त्री कार्कीको शपथमा सभामुख र राष्ट्रिय सभा अध्यक्ष अनुपस्थित

काठमाडौं । अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथ समारोहमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल अनुपस्थित भएका छन् ।
शुक्रबार साँझ शीतल निवासमा आयोजित शपथ ग्रहण समारोहमा दुवै संसदीय शीर्ष नेताहरू सहभागी नहुनुले राजनीतिक वृत्तमा चासो सिर्जना गरेको छ ।
सभामुख सचिवालयले सुरक्षा कारण देखाउँदै घिमिरे शपथ कार्यक्रममा सहभागी नभएको स्पष्ट पारेको छ । यस्तै, राष्ट्रिय सभा अध्यक्ष दाहालको अनुपस्थितिका विषयमा भने औपचारिक विवरण आएको छैन ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबाहेक अन्य शीर्ष नेताहरूको उपस्थिति देखिएन । समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, सुरक्षा निकायका प्रमुखहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू र केही विशिष्ट व्यक्तिहरू भने सहभागी थिए ।
शपथ समारोहपूर्व आज दिउँसो सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष दाहालले संयुक्त विज्ञप्ति जारी गर्दै विधिको शासन र संविधानवादबाट बाहिर जान नहुने धारणा सार्वजनिक गरेका थिए ।
विज्ञप्तिमा उनीहरूले राष्ट्रपतिले लिएको राजनीतिक पहललाई संवैधानिक प्रक्रियामार्फत देशको निकास दिने प्रयासको रूपमा व्याख्या गर्दै, ‘विधिको शासन, नागरिक स्वतन्त्रता, राष्ट्रिय एकता र स्वाधीनतालाई सर्वोपरि राख्नुपर्छ’ भन्ने अडान व्यक्त गरेका थिए ।
उनीहरूले आन्दोलनरत पक्षका जायज मागहरूलाई सम्बोधन गर्दै समृद्ध र बलियो लोकतन्त्रको निर्माणतर्फ अघि बढ्न सबै पक्षलाई आग्रह गरेका छन् ।








