हिमाचल प्रदेशमा पहिरो जाँदा ५ जनाको मृत्यु, ३ जना घाइते

नयाँ दिल्ली । भारतको उत्तर राज्य हिमाचल प्रदेशमा ठूलो पहिरो जाँदा पाँच जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।

मंगलबार बिहान कुल्लु जिल्लाको शरमणी गाउँमा पहिरो जाँदा उक्त घटना भएको हो । राजधानी सिमलाबाट करिब २१० किलोमिटर टाढा पर्ने उक्त गाउँमा पहिरो जाँदा घरहरू पुर्ने स्थिति आएको बताइएको छ ।

स्थानीय अधिकारीले जानकारी दिएअनुसार, पहिरो गएको बेला सबै बासिन्दा निद्रामा थिए, जसले गर्दा समयमै सुरक्षित स्थानमा जान सक्ने मौका पाएका थिएनन् ।

मृतकमध्ये दुई महिला र दुई जना साना बालबालिका रहेका छन् । घाइते भएका तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

मनसुन सुरु भएयता हिमाचल प्रदेशमा निरन्तर बाढी, पहिरो र बादल फुट्ने घटनाहरूले ठुलो जनधनको क्षति पुर्‍याइरहेका छन् ।

राज्य आपतकालीन सञ्चालन केन्द्रद्वारा जारी प्रतिवेदनअनुसार, जुन २० देखि सेप्टेम्बर ९ सम्मको अवधिमा मात्रै ३७८ जनाको मृत्यु, ४० जना बेपत्ता र ४३७ जना घाइते भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + eighteen =