इटहरीमा प्रहरीको गोली लागेर ज्यान गुमाउने २३ वर्षीय श्रेष्ठ

इटहरी । इटहरीमा जेन-जी पुस्ताले विभिन्न माग राखी गरेको आन्दोलन नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये एकजनाको पहिचान खुलेको छ भने अर्का एकको पहिचान खुल्न बाँकी नै रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक प्रकाश पराजुलीका अनुसार मृत्यु हुनेमा इटहरी-१६ का २३ वर्षीय अभिषेक श्रेष्ठ रहेका छन् । श्रेष्ठको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ । अर्का मृतक युवकको पहिचानका लागि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
आन्दोलन हिंसात्मक बन्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । गोली लागेर गम्भीर घाइते भएका दुवै जनालाई तत्काल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए ।
यस घटनाले इटहरीमा थप तनाव सिर्जना गरेको छ । स्थानीय प्रशासनले शान्ति सुरक्षा कायम राख्न थप बल परिचालन गरेको छ ।








