एनआईसी एशिया बैंकको ‘साथी घर कर्जा’ योजना सार्वजनिक, ३ करोडसम्म कर्जा उपलब्ध

काठमाडौं । एनआईसी एशिया बैंकले घर तथा अपार्टमेन्ट खरिद, निर्माण, पुनःनिर्माण तथा घडेरी खरिदका लागि अधिकतम रू. ३ करोडसम्मको ‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ ।
‘सपना तपाईंको, साथ हाम्रो’ भन्ने नारासहित सार्वजनिक गरिएको योजनाले न्यूनतम रू. ५० लाखदेखि अधिकतम ३ करोडसम्मको कर्जा प्रदान गर्नेछ । यो कर्जा योजना आकर्षक ब्याजदर र सहज प्रक्रियासहित उपलब्ध गराइने बैंकले जनाएको छ ।
कर्जाको अधिकतम अवधि २५ वर्ष तोकिएको छ । पहिलोपटक घर खरिद वा निर्माण गर्ने ग्राहकका लागि धितो सुरक्षणको अनुपात अधिकतम ८० प्रतिशत तोकिएको छ भने अन्यका हकमा ७० प्रतिशत सम्म धितोको आधारमा कर्जा पाइनेछ ।
एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले कर्जा योजनाले घर किन्न वा बनाउन चाहनेको सपना साकार पार्न महत्वपूर्ण टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
यस योजनाबाट सहरी तथा अर्धसहरी क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरू लाभान्वित हुने अपेक्षा गरिएको छ ।








