सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला २ लाख नाघ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज नयाँ इतिहास रचेको छ । तीन साताअघि कायम भएको सर्वाधिक उच्च मूल्यको कीर्तिमान तोड्दै सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबारको तुलनामा आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले महँगिएको छ । यसअघि साउन २३ गते सुनको भाउ १ लाख ९९ हजार ४ सय रुपैयाँमा पुगेर कीर्तिमान कायम गरेको थियो ।
सुनको मूल्य निरन्तर उकालो लाग्नुमा विश्वव्यापी आर्थिक अनिश्चितता, भूराजनीतिक तनाव र अमेरिकी डलरको उतारचढाव मुख्य कारकका रूपमा हेरिएको छ । लगानीकर्ताहरू सुरक्षित लगानीका लागि सुनतर्फ आकर्षित हुँदा यसको माग बढेको व्यवसायीहरू बताउँछन् ।
यता, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । बिहीबार प्रतितोला २ हजार ३ सय ५५ रुपैयाँ रहेको चाँदी आज ५ रुपैयाँले बढेर २ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्चतम हो ।
सुन र चाँदीको मूल्यमा आएको यो उछालले उपभोक्ताहरूमा मिश्रित प्रतिक्रिया देखिएको छ । एकातिर गहना खरिद गर्ने योजनामा रहेकाहरू निराश बनेका छन् भने अर्कोतिर सुनलाई लगानीको सुरक्षित माध्यम मान्नेहरूका लागि यो सकारात्मक खबर बनेको छ ।








