विद्या भण्डारीलाई राजनीतिमा फर्किने ढोका मैले खोलिदिएको हुँ, त्यो स्वाभाविक हो : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधान आफैँमा उत्कृष्ट भए पनि यसको कार्यान्वयनमा राजनीतिक दलहरूले अरुचि देखाएको गम्भीर आरोप लगाएका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देशको राजनीतिक तथा अन्तर्राष्ट्रिय परिस्थितिको सापेक्षतामा संविधान राम्रो बनेको भए पनि कार्यान्वयनमा देखिएका कमजोरीले समस्या उत्पन्न भएको बताएका हुन ।
प्रचण्डका अनुसार, विशेषगरी संविधानले परिकल्पना गरेअनुसारका ऐन कानुन निर्माणमा दलहरूले बेवास्ता गरेका छन् । उनले भने, ‘एउटा पक्ष यो संविधान अनुसारको ऐन कानुन बनाउने कुरामा नै अरुचि देखायो । खासगरी अहिलेका गठबन्धनमा रहेका पार्टीहरू सुरुदेखि नै संविधानको मर्म र भावना अनुसार ऐन बनाउन नै अरुचि देखाइसकेपछि कार्यान्वयनमा समस्या भयो ।’
पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा फर्कनु स्वाभाविक
प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिको सक्रिय राजनीतिमा पुनरागमनले संविधानको औचित्य समाप्त भएको नहुने स्पष्ट पारे । उनले अन्तर्राष्ट्रिय अभ्यासको उदाहरण दिँदै विश्वका विभिन्न मुलुकमा राष्ट्रपति, प्रधानमन्त्री र मेयरजस्ता उच्च पदमा रहेका व्यक्तिहरू आफ्नो कार्यकाल समाप्त भएपछि पुनः सक्रिय राजनीतिमा फर्कने गरेको बताए । ‘संविधानले, ऐनले, कानुनले कसैले पनि राष्ट्रपतिलाई सक्रिय राजनीतिमा नआउनु भनेको पनि छैन, कुनै पार्टी राजनीतिमा नआउनु भनेको पनि छैन । त्यसकारण यो खाली एउटा तर्क मात्रै हो,’ उनले भने ।
उनले राष्ट्रपति वा उपराष्ट्रपति पार्टीको निर्णयबाट पदमा पुग्ने भएकाले कार्यकाल सकिएपछि पार्टीमा फिर्ता लिनु स्वाभाविक प्रक्रिया भएको बताए । यस सन्दर्भमा, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण केपी ओलीकै सहमतिमा भएको र उनको सक्रिय राजनीतिमा फर्कने चाहना अब स्पष्ट भएको प्रचण्डको भनाइ थियो । चीन भ्रमणपछि विद्या भण्डारीलाई अध्यक्ष बनाउने चर्चा चलेको भए पनि त्यसपछि के भयो भन्ने आफूलाई थाहा नभएको उनले बताए । उनले विद्या भण्डारीको ‘प्लान बी’ भन्ने कुरा हल्ला मात्र भएको र हाल आफू र भण्डारीबीच कुनै सम्पर्क नरहेको स्पष्ट पारे । प्रचण्डले आफ्नो पार्टीले उपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीमा फर्काएर पूर्वराष्ट्रपति भण्डारीलाई पनि राजनीतिमा आउनका लागि ढोका खोलिदिएको दाबी गरे ।
प्रचण्डले कालापानी, लिपुलेक, लिम्पियाधुराजस्ता सीमा समस्या समाधानका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिबद्धता जनाएको खुलासा ग रे। आफू प्रधानमन्त्री हुँदा भारत भ्रमणमा जाँदा सीमा समस्या समाधान नभई छिमेकीसँगको सम्बन्ध सुमधुर हुन नसक्ने कुरा आफूले स्पष्ट रूपमा राखेको बताए । उनले भने, ‘पछिल्लो पटक प्रधानमन्त्रीको रूपमा भारत जाँदा भारतीय प्रधानमन्त्री मोदीजी र मैले प्रेस ब्रिफिङमा सिमानाको विषयमा चर्चा भएको र प्रधानमन्त्री मोदीजीले पनि अब यो सिमानाको समस्या जो बाँकी छ, त्यसलाई संवादद्वारा हल गरिन्छ भनेर प्रतिबद्धता व्यक्त गरेको पहिलो पटक हो ।’
प्रचण्डले पार्टीभित्र रहेका स्वार्थ समूहहरूलाई विघटन गर्ने केन्द्रीय समितिको निर्णयबारे पनि प्रकाश पारे । उनका अनुसार, स्वार्थ समूह भनेको पार्टीको स्वार्थ, लाइन, विधि, पद्धति र नेतृत्वभन्दा बाहिर गएर सार्वजनिक वा आन्तरिक रूपमा पनि व्यक्तिगत स्वार्थमा केन्द्रित भएर गरिने गतिविधिहरू हुन् । जनार्दन शर्मा ‘प्रभाकर’बारे सोधिएको प्रश्नमा उनले एकजनाले नपत्याउँदैमा पार्टी आन्दोलन र इतिहास नरोकिने बताए । ‘अब यो कुरा हाम्रो स्थायी समितिको बैठकले प्रष्ट पारेको छ,’ प्रचण्डले भने, ‘हामी आउने पदाधिकारीको बैठकमा यो विषयमा उहाँले के भनेको त्योबारे पनि हामी फेरि समीक्षा गर्छौ ।’








