आफ्नो गुट बाहेकका नेतालाई विश्वास गर्दैनन् देउवा

काठमाडौं । मंगलबार नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्यो । बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको नाम टुङ्गो लगाउने मुख्य एजेन्डा थियो ।
लामो छलफलपछि सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकले ईश्वरीदेवी न्यौपानेलाई राज्य व्यवस्था समितिको उम्मेदवार बनायो । न्यौपाने देउवाकी विश्वास पात्र हुन् ।
न्यौपाने यसअघि पनि देउवाकै सिफारिसमा सभामुख पदको उम्मेदवार बनेकी थिइन् । यद्यपि उनी एमालेका देवराज घिमिरेसँग प्रतिस्पर्धा गर्दै पराजित भएकी थिइन् । त्यसपछि देउवाले उनलाई संसदीय सुनुवाइ समितिको सभापति बनाए, जहाँ उनले झन्डै एक वर्ष काम गरिन् । अब फेरि अर्को महत्त्वपूर्ण समितिको नेतृत्व पनि उनीमार्फतै हुने पक्का भएको छ ।
कुलिङ अफ पिरियडमा छलछाम गरेको आरोप लागेपछि निवर्तमान राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा पछि राज्य व्यवस्था समितिको सभापति पद रिक्त थियो । राज्य व्यवस्था समितिको सभापति नेपाली कांग्रेसको भागमा छ ।
जसअनुसार देउवाले आफ्नो निकट रहेकी न्यौपानेलाई राज्य व्यवस्था समितिको सभापतिका लागि उम्मेदवार बनाउने निर्णय लिए । उसो त, राज्य व्यवस्था समितिको सभापति बन्न कांग्रेसमा हानथाप नै थियो । कांग्रेसबाट दिलेन्द्रप्रसाद बडू, सरिता प्रसाईँ, हृदयराम थानी राज्य व्यवस्था समितिको सभापति बन्न चाहन्थे । तर सभापति देउवाले संसदीय सुनुवाइ समितिकी सभापति रहिरहेकी न्यौपानेलाई पदबाट राजीनामा दिन लगाएर राज्य व्यवस्था समिति सभापतिको उम्मेदवार बनाए ।
राज्य व्यवस्था समितिका सदस्य दिलेन्द्रप्रसाद बडू र हृदयराम थानीलाई सभापति पदमा पठाउनुपर्ने आवाज पार्टीभित्र संस्थापन इतर पक्षको थियो । सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का भने रामहरि खतिवडालाई नै दोर्याउने पक्षमा थिए ।
कुलिङ पिरियड २ वर्ष राख्नुपर्छ भन्नेमा रामहरिले सुरुदेखि नै अडान राख्दै आएको सन्दर्भ उठाउँदै सभापति देउवा र उपसभापति खड्काले उनैलाई राज्य व्यवस्था समितिमा निरन्तरता दिए पनि हुने चाहना राखेका थिए । तर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यो कुरा मानेनन् ।
यससँगै प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पदमा न्यौपानेको एकल उम्मेदवारी परेको छ । नेपाली कांग्रेसकी सांसद न्यौपानेको मात्रै उम्मेदवारी परेको संघीय संसद् सचिवालयले जनाएको छ । यससँगै न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापति निर्विरोध भएकी छन् । यसको औपचारिक घोषणा आज बुधवार बस्ने समिति बैठकले गर्नेछ ।








