‘छैटौं ब्रिटिस कप’ फुटसलको तयारी पूरा, विजेताले एक लाख पाउने

काठमाडौं । द ब्रिटिस कलेज (टीबीसी) ले विद्यार्थीहरूमाझ टिमवर्क र खेल भावना अभिवृद्धि गर्ने उद्देश्यले ‘छैटौं ब्रिटिस कप-२०२५’ इन्टर कलेज फुटसल प्रतियोगिताको आयोजना गर्ने भएको छ । यही अगस्ट २५ देखि २९ सम्म बालुवाटारस्थित धुकु फुटसल ग्राउन्डमा आयोजना हुने यस संस्करणको प्रतियोगितामा पहिलो पटक +२ र स्नातक तहका लागि छुट्टाछुट्टै डिभिजनमा प्रतिस्पर्धा गराइनेछ ।

सन् २०१८ देखि निरन्तर आयोजना हुँदै आएको यस प्रतिष्ठित प्रतियोगिताको विजेता टोलीले नगद १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र फेयर प्ले टिमलाई पनि ५ हजारदेखि १० हजार रुपैयाँसम्मको नगद पुरस्कारले सम्मान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा काठमाडौँ उपत्यकाका प्रतिष्ठित शैक्षिक संस्थाहरूको उत्साहजनक सहभागिता रहनेछ । +२ डिभिजनमा नाइटिङ्गेल, चेल्सी, डीएभी, ट्रिनिटी, उल्लेन्स लगायत २१ कलेजले प्रतिस्पर्धा गर्नेछन् भने स्नातक तहमा आयोजक द ब्रिटिस कलेजसहित थेम्स, सफ्टवैरिका, हेराल्ड, एपेक्स लगायत २२ कलेजले उपाधिका लागि भिड्नेछन् ।

ब्रिटिस कलेजका मार्केटिङ प्रमुख अमरदीप मण्डलले प्रतियोगिताको छैटौं संस्करण आयोजना गर्न पाउँदा उत्साहित रहेको बताए । यसपटक +२ डिभिजन थप गरेर प्रतियोगितालाई अझ फराकिलो बनाइएको उनले उल्लेख गरे ।

“यस प्रतियोगिताको मुख्य उद्देश्य टिमवर्क र खेल भावनालाई प्रोत्साहित गर्नु हो,” मण्डलले भने, “नयाँ डिभिजनले थप विद्यार्थीहरूलाई सहभागी हुने अवसर दिएको छ । प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सबै प्रायोजक, सहभागी टिम र सहकर्मीहरूलाई धन्यवाद दिन चाहन्छु ।” उनले प्रतियोगितामा उल्लेख्य संख्यामा दर्शकको उपस्थिति रहने विश्वास व्यक्त गरे ।

प्रतियोगिताको टाइटल स्पोन्सरमा एम्पायर एजुकेसन एन्ड भिसा सर्भिसेज रहेको छ भने बाबु एड्भेन्चर, गोदावरी भिलेज रिसोर्ट, क्यूएफएक्स सिनामाज, हनर स्मार्टफोन लगायतले विभिन्न विधामा सहकार्य गरेका छन् । प्रतियोगिताको लाइभ अपडेट तथा तालिकाका लागि द ब्रिटिस कलेजको आधिकारिक सामाजिक सञ्जालमा हेर्न सकिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − one =