श्रद्धा, सम्मान र सम्झना: आज कुशे औँसी तथा बाबुको मुख हेर्ने दिन

गोकर्णेश्वरमा भक्तजनको घुइँचो, दिवङ्गत पिताको सम्झनामा श्राद्ध

काठमाडौँ । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी तथा बाबुको मुख हेर्ने पर्व आज देशभरका वैदिक सनातन धर्मावलम्बीहरूले श्रद्धा र भक्तिपूर्वक मनाउँदै छन् । आजको दिन घर–घरमा वर्षभर देवकार्य तथा पितृकार्यका लागि आवश्यक पर्ने पवित्र कुश भित्र्याइन्छ भने छोराछोरीले आफ्ना पितालाई सम्मान प्रकट गरी ‘बाबुको मुख हेर्ने’ चलन छ ।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी आज उखेलिएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने र वर्षभर प्रयोग गर्न सकिने धार्मिक विश्वास छ । सनातन धर्ममा कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मानिन्छ ।

यसै अवसरमा ‘पितृदेवो भव’ को भावना आत्मसात् गर्दै छोराछोरीहरूले आफ्ना जीवित पितालाई मनपर्ने मिष्ठान्न र भोजन खुवाई, उपहार दिएर सम्मान प्रकट गर्ने र आशीर्वाद लिने गर्दछन् ।

पिता दिवङ्गत भइसकेकाहरूले भने आज विभिन्न तीर्थस्थलमा गई बाबुको सम्झनामा तर्पण, पिण्डदान तथा श्राद्ध गर्ने गर्दछन् । यसका लागि आज बिहानैदेखि काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको ‘उत्तरगया’ भनेर चिनिने गोकर्णेश्वर महादेव मन्दिर परिसरमा ठूलो मेला लागेको छ । दिवङ्गत पिताको आत्माको शान्तिको कामना गर्दै श्राद्ध गर्नेहरूको घुइँचोले मन्दिर परिसर भरिभराउ छ ।

गोकर्णेश्वर नगरपालिकाका अनुसार मेलालाई व्यवस्थित बनाउन सबै तयारी पूरा गरिएको छ । यसैगरी, रसुवा र नुवाकोटको संगमस्थल बेत्रावतीमा पनि दिवङ्गत पिताको नाममा श्राद्ध गर्नेहरूको भीड लागेको छ ।

धार्मिक मान्यताअनुसार आजको दिन गरिएको सानो दानले पनि हजारौँ गुणा बढी पुण्य फल मिल्ने भएकाले यस दिनलाई ‘पुण्य पर्व’ का रूपमा पनि लिइन्छ । पितालाई सम्मान प्रकट गरिने यो दिनले परिवारमा स्नेह र सम्बन्धलाई थप प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =