अलैँचीको निर्यात दोब्बरले बढ्यो

झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा अलैँची निर्यात ९९ दशमलव ५० प्रतिशतले बढेको छ ।

कार्यालयको तथ्याङ्क अनुसार गत साउन महिनामा ३२ करोड १७ लाख ६१ हजार बराबरको अलैँची निर्यात भएको हो ।

गत एक महिनाको अवधिमा २१६ दशमलव १५ मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए ।

अघिल्लो आव २०८१/८२ मा १६ करोड १२ लाख ५२ हजार बराबरको अलैँची निर्यात भएको उनले बताए ।

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको साउन महिनामा चिया निर्यात २६ दशमलव ८० प्रतिशतले घटेको छ । सो अवधिमा ३७ करोड ४८ लाख २४ हजार बराबरको चिया निर्यात भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा ५१ करोड २२ लाख ७८ हजार बराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईंले जानकारी दिए ।

कार्यालयको तथ्याङ्कअनुसार निर्यात हुने मुख्य वस्तुहरूमा भेनियर सिट ३० दशमलव ४० प्रतिशत, छुर्पी ९२ प्रतिशत, धातुका अन्य अवशेष शत् प्रतिशत, काउली, ब्रोकाउली र बन्दाकोपी ८९ प्रतिशतले वृद्धि भएको छ ।

यसैगरी, प्लाइउड ५४ दशमलव १० प्रतिशत, अदुवा ५७ दशमलव ४० प्रतिशत, अम्रिसो शून्य दशमलव ६० प्रतिशतले निर्यातमा कमी आएको छ ।

मेची भन्सारबाट आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा तीन अर्ब ६९ करोड ४० लाख २३ हजारको माल वस्तु निर्यात भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + fourteen =