देशको राजनीतिक अवस्था अधोगतितर्फ उन्मुख छ : डा. शेखर

काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली नेता तथा सांसद डा. शेखर कोइरालाले देशको राजनीतिक र सामाजिक अवस्था हरेक दिन खस्किँदै गएकोमा गहिरो चिन्ता व्यक्त गरेका छन् । उनले यो अधोगतितर्फ उन्मुख अवस्थालाई उकास्ने जिम्मा विद्यालय, राजनीतिज्ञ र कर्मचारीतन्त्रलगायत समाजका सबै तप्काको काँधमा आएको बताएका छन् ।

शुक्रबार काठमाडौँस्थित ज्ञानज्योति महिला माध्यमिक विद्यालयको २० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सांसद कोइरालाले मुलुकको वर्तमान दिशाप्रति असन्तुष्टि जनाएका हुन् । ‘अहिले राजनीतिक मात्रै होइन, सामाजिक अवस्था पनि देशको स्खलनतिर गइरहेको छ, दिनप्रतिदिन झरिरहेको छ,” उनले भने, “त्यसलाई उकास्ने जिम्मा अब विद्यालय, राजनीतिज्ञ र कर्मचारीहरूले लिनुपर्छ ।’

उनले निराशामा मात्रै डुब्नुको साटो सबै मिलेर सकारात्मक सोचका साथ देशलाई कसरी अघि बढाउन सकिन्छ भन्नेमा केन्द्रित हुनुपर्नेमा जोड दिए । देश निर्माणका लागि सामूहिक प्रयास र सकारात्मक दृष्टिकोण अनिवार्य रहेको उनको भनाइ थियो । कार्यक्रममा शिक्षा क्षेत्रमा राज्यको लगानी र नीतिको आलोचना गर्दै डा. कोइरालाले कनिका छरे जसरी अनुदान बाँडेर विद्यालय र शिक्षा क्षेत्रको विकास असम्भव रहेको बताए । उनले भने, ‘लोकतन्त्रमा शिक्षा नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो । शिक्षित समाज भयो भने मात्र सभ्य देश बन्छ ।’

महिला शिक्षाको महत्त्वलाई विशेष जोड दिँदै उनले घरमा एउटी महिला शिक्षित हुँदा सम्पूर्ण परिवार नै शिक्षित हुने धारणा राखे । उनले नियम, ऐन, कानुन बनाउने विधायकदेखि सरकार र सञ्चारमाध्यमसम्म कतै न कतै चुकिरहेको आत्मसमीक्षा गर्दै सार्वजनिक विद्यालयहरूको प्रवर्द्धनमा सबै एकजुट हुनुपर्ने बताए ।

सांसद कोइरालाले सामुदायिक विद्यालयलाई कसरी गुणस्तरीय र उत्कृष्ट बनाउने भन्नेमा सरकारको ध्यान जानुपर्ने औंल्याए । शिक्षाले नै नेपाललाई विश्वमा चिनाउन सक्ने भएकाले राज्यको पहिलो प्राथमिकता शिक्षा क्षेत्र हुनुपर्ने उनको निष्कर्ष थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =