नेपालको कानुनअनुसार दर्ता नभएका सामाजिक सञ्जाल नियन्त्रण गर्छौं : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कानुनअनुसार दर्ता नभएका सामाजिक सञ्जालहरूलाई नियन्त्रण गर्ने बताएका छन् ।
राष्ट्रिय सूचना आयोगद्वारा मंगलवार आयोजित १९ औँ राष्ट्रिय सूचना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सामाजिक सञ्जाल डिजिटल प्लेटफर्महरूको दुरुपयोग धेरै भएको भन्दै कतिपय सामाजिक सञ्जालहरूले तिमीहरूको कानुन मान्दिनँ, दर्ता हुँदिन भन्ने गरेको भन्दै तिनीहरूलाई नियन्त्रण गर्ने बताए ।
नेपालको कानुनअनुसार सञ्चालन नहुने सामाजिक सञ्जालहरू अराजकता माध्यम रहेको भन्दै त्यस्ता सामाजिक सञ्जाल नियन्त्रण गर्दा विरोध नगर्न पनि आग्रह गरे । नियमभित्र आउनुपर्ने, दर्ता हुनुपर्ने र जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ ।
समाज ध्वस्त पार्ने, दर्ता नगर्ने, कानुनको दायरामा नआउने, पैसा कमाउने, कर नतिर्ने, जनता लुट्ने, ठग्ने, जनतालाई कुबाटोतिर धकेल्ने, देशलाई बरबादीतिर धकेल्ने कोसिस गर्ने यस्ता प्रयासहरू सरकारले सफल हुन नदिने स्पष्ट पारे ।
उनले भने ‘सामाजिक सञ्जाल डिजिटल प्लेटफर्महरूको दुरुपयोग भएको छ । कतिपय सामाजिक सञ्जालहरू दर्ता गर्नु नपर्ने, गर्दिन, तिमीहरूको कानुन मान्दिनँ भन्छन् । संविधान मान्दिनँ, यहाँ अराजकतावादीहरू जत्तिकै मान्दिनँ, दर्ता गर्दिनँ भन्छन् । त्यसो भए नेपाल सरकारले नियन्त्रण गर्नेछ । यहाँनेर स्वतन्त्रताको हक भएन भन्नेकुरा आउला । नियमभित्र पाइन्छ । दर्ता गर्नुपर्छ, जिम्मेवार ढंगले चलाउनुपर्छ । समाज ध्वस्त पार्ने, दर्ता नगर्ने, कानुनको दायरामा नआउने, पैसा कमाउने, कर नतिर्ने, जनता लुट्ने, ठग्ने, जनतालाई कुबाटोतिर धकेल्ने, देशलाई बरबादीतिर धकेल्ने कोसिस गर्ने यस्ता प्रयासहरू सरकारले हुन दिँदैन । यो स्पष्ट छ । कतिपयले सामाजिक सञ्जालको विधेयक ल्याउन लाग्यो सरकारले, ल्याउँछ । अवश्य ल्याउँछ । अराजक हुन दिँदैन । संविधान र कानुनभित्र सबै बस्नुपर्छ । डेमोक्रेसी एनार्किजम होइन ।’
प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले लोकतन्त्र पूर्ण रूपमा कार्यान्वयन हुने पनि स्पष्ट पारे ।








