गाईजात्रा : सम्झना, व्यङ्ग्य र आस्थाको त्रिवेणी (तस्बिरहरु)

काठमाडौं । आज भाद्र कृष्ण प्रतिपदा, दिवंगत आफन्तको सम्झनामा मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ देशभर विभिन्न कार्यक्रमका साथ श्रद्धापूर्वक मनाइँदैछ । शोकलाई शक्तिमा बदल्दै जीवनको यथार्थलाई स्वीकार गर्ने सन्देश दिने यो पर्व काठमाडौं उपत्यकालगायत बनेपा, धुलिखेल, त्रिशुली, पोखरा, धरान र विराटनगर जस्ता नेवार समुदायको बसोबास रहेका प्रमुख सहरहरूमा विशेष उल्लासका साथ मनाइन्छ।

यो पर्व एक वर्षभित्र दिवङ्गत भएका आफन्तहरूको सम्झनामा मनाइने गरिन्छ । आजका दिन गाई वा गाईको प्रतीकका रूपमा बालबालिकालाई सिँगारेर नगर परिक्रमा गराउने चलन छ, जसलाई नेवारी भाषामा ‘सापारु’ भनिन्छ ।‘सा’ को अर्थ गाई र ‘पारु’ को अर्थ प्रतिपदा तिथि हो । परिक्रमामा निस्किएकाहरूलाई श्रद्धालुहरूले दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै नगद र अन्न दान गर्ने गर्दछन् ।

गाईजात्राको सुरुवात सत्रौँ शताब्दीमा काठमाडौंका राजा प्रताप मल्लले गरेको ऐतिहासिक तथ्य पाइन्छ । आफ्ना पुत्र चक्रवर्तीन्द्र मल्लको निधनले शोकमा डुबेकी रानीलाई सान्त्वना दिन राजाले यो पर्वको थालनी गरेका थिए । संसारमा यस्तो शोक व्यहोर्ने आफूहरू मात्र नभएर सबै प्रजाहरूले पनि यस्तै नियति भोग्नुपर्छ भन्ने देखाउन राजाले वर्षभित्र आफन्त गुमाएका सबैलाई गाईसहित जात्रामा सहभागी हुन आदेश दिएका थिए । शहरभरिबाट मृतकका आफन्तहरू गाईको भेषमा निस्किएको देखेपछि रानीको शोक केही कम भएको बताइन्छ ।

जात्राले मात्र रानीको मन शान्त नभएपछि राजा प्रताप मल्लले विभिन्न हास्यव्यङ्ग्य र प्रहसनका कार्यक्रमहरू आयोजना गर्न आदेश दिए, जसबाट गाईजात्रामा व्यङ्ग्यको परम्परा बसेको मानिन्छ । यही परम्परा आजसम्म पनि जीवन्त छ र गाईजात्रा सामाजिक तथा राजनीतिक विकृतिविरुद्ध आवाज उठाउने एक सशक्त माध्यम बनेको छ । यस दिन समाजमा विद्यमान भ्रष्टाचार, कुशासन र विसङ्गतिहरूलाई हास्यव्यङ्ग्यमार्फत निर्मम प्रहार गरिन्छ । विभिन्न पत्रपत्रिकाहरूले हास्यव्यङ्ग्य विशेषाङ्क निकाल्छन् भने कलाकारहरूले विशेष मञ्चनमार्फत समाजको ऐना देखाउँछन् ।

गाईजात्रा केवल ऐतिहासिक र सामाजिक पर्व मात्र नभई गहिरो धार्मिक विश्वाससँग पनि जोडिएको छ । हिन्दु धर्मग्रन्थ पद्मपुराण र गरुड पुराणका अनुसार, गाईजात्राका दिन नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरूले गाईको पुच्छर समातेर वैतरणी नदी पार गर्छन् र उनीहरूका लागि स्वर्गको ढोका खुल्छ भन्ने विश्वास गरिन्छ । यसरी यो पर्वले मृतक आत्माको मुक्तिको कामना गर्दै शोकसन्तप्त परिवारलाई जीवनको चक्रसँग अभ्यस्त हुन प्रेरणा दिन्छ ।

मल्लकालमा राजा प्रताप मल्लको पालादेखि हनुमानढोका दरबारबाट सुरु हुने गाईजात्राको परिक्रमा मार्ग अझैसम्म प्रचलनमा छ । आठ दिनसम्म मनाइने यो पर्वले राजधानी काठमाडौं उपत्यकामा विशेष रौनक छाएको छ, जहाँ नेवार समुदायका मौलिक बाजागाजा, नृत्य र सांस्कृतिक झाँकीहरूले शोकाकुल वातावरणलाई उत्सवमय बनाउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − seventeen =