आदिवासी जनजाति आयोगका सुझावहरू सरकारले १०% पनि कार्यान्वयन गरेन : अध्यक्ष मगर

काठमाडौँ । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आयोगले दिएका सुझावहरू १० प्रतिशत पनि कार्यान्वयन हुन नसकेको बताएका छन् ।
विश्व आदिवासी जनजाति दिवसको अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो गुनासो गरेका हुन् ।
उनले संविधान र कानुनले दिएका आदिवासी जनजातिका अधिकारहरू अझै पूरा हुन नसकेको बताए । उनले आयोगले सरकारलाई सिफारिस गरेपनि १० प्रतिशत पनि सिफारिसहरू कार्यान्वयन नभएको बताए । आयोगले जतिसुकै काम गरेपनि परिणाम कार्यान्वयनमा हुने भएकाले कार्यान्वयनका लागि सरकारले प्राथमिकता दिनुपर्ने बताए ।
उनले भने ‘संविधान र कानुनले दिएका आदिवासी जनजाति अधिकारहरू कार्यान्वयन छन् छैनन् त्यसबारेमा अनुगमन र सरकारलाई सिफारिस गर्ने यो क्षेत्रमा काम गर्दै आएको आदिवासी जनजाति आयोगले प्रतिवेदन सम्माननीय राष्ट्रपतिज्यूमार्फत नेपाल सरकारलाई बुझाइसकेको छ । चार प्रतिवेदनमा फोटो मात्रै टाँसेको छैन । ६ दर्जन भन्दा बढी सिफारिस गरेका छौँ । तर सरकारबाट त्यसको कार्यान्वयन भएको छैन । १० प्रतिशत पनि कार्यान्वयन भएको छैन । त्यतातिर सरकार गम्भीर होस् । आयोगले जतिसुकै काम गरेपनि परिणाम कार्यान्वयनमा हुन्छ, कार्यान्वयन नगरे परिणाम देखिँदैन । नेपालका आदिवासी जनजातिले लामो समयदेखि राज्यका नीति नियम र कार्यान्वयन गर्ने निकायहरूमा श्रम संख्याको समावेशिताको लागि लढेको छ ।’
अध्यक्ष मगरले आदिवासी जनजातिले चाहेअनुसारको पूर्ण समावेशिता अझै लागू हुन नसकेको जिकिर गरे ।








