काठमाडौंमा ‘स्टडी इन इन्डिया एक्स्पो’ हुँदै

काठमाडौं । भारतमा उच्च शिक्षा हासिल गर्ने इच्छुक नेपाली विद्यार्थीका लागि एक सुनौलो अवसर आउन लागेको छ ।
यही साउन २३ र २४ गते (२०२५ अगस्ट ८ र ९) काठमाडौंको द एभरेष्ट होटलमा ‘स्टडी इन इन्डिया एक्स्पो’ आयोजना हुन लागेको हो ।
अफेयर्स नेपाल प्रा.लि. को आयोजनामा हुने यो एक्स्पो भारतका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूलाई एउटै छानामुनि ल्याउने तयारीमा छ । आयोजकका अनुसार, यो एक्स्पो नेपाली विद्यार्थीहरूलाई भारतमा अध्ययन गर्नका लागि आवश्यक मार्गदर्शन, जानकारी र अवसर प्रदान गर्ने महत्वपूर्ण प्लेटफर्म बन्नेछ ।
एक्स्पोमा सहभागी भारतीय शिक्षण संस्थाहरूका प्रतिनिधिहरू प्रत्यक्ष रूपमा वा तिनका आधिकारिक नेपाली कन्सल्ट्यान्टमार्फत उपस्थित रहनेछन् ।
यसले विद्यार्थी तथा अभिभावकहरूलाई विश्वविद्यालय प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गर्न र शंकाहरू समाधान गर्न सहज बनाउने विश्वास आयोजकको छ ।
अफेयर्स नेपालका संस्थापक एवं प्रबन्ध निर्देशक कुमार थपलियाका अनुसार, एक्स्पोमा विज्ञान, व्यवस्थापन, मानविकी, इन्जिनियरिङ, पेरामेडिकल, नर्सिङ, डेन्टल, आइटी, कृत्रिम बुद्धिमत्ता र मेशिन लर्निङ, डिजाइन, पत्रकारिता, आर्किटेक्चर, होटल म्यानेजमेन्ट लगायतका विविध क्षेत्रका विषयहरू समावेश गरिनेछ ।
स्पट एडमिशन र छात्रवृत्तिको सुविधा पनि एक्स्पोको विशेष आकर्षण हुने आयोजकको दाबी छ । मेरिटका आधारमा विद्यार्थीहरूले छात्रवृत्तिको अवसर समेत पाउनेछन् ।
दुई दिनसम्म चल्ने यस एक्स्पोमा ५,००० भन्दा बढी विद्यार्थी र अभिभावकको उपस्थिति रहने अपेक्षा गरिएको छ ।
थपलियाका अनुसार, विद्यार्थीहरूले पाठ्यक्रम छनोट, भर्ना प्रक्रिया, शुल्क संरचना, छात्रवृत्ति, छात्रावास र क्याम्पस सुविधाबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन् ।
भारत नेपाली विद्यार्थीहरूका लागि सस्तो लागत, सांस्कृतिक निकटता, अन्तर्राष्ट्रिय स्तरको शिक्षा, विविध विषयवस्तु र रोजगारीका अवसरहरूका कारण लोकप्रिय गन्तव्य बनेको थपलियाले बताए ।








