बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नयाँ मोबाइल एप सार्वजनिक

काठमाडौँ । मिदास हेल्थ सर्भिसेजसँगको सहकार्यमा बी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ले नयाँ अस्पताल मोबाइल एप सार्वजनिक गरेको छ।
यस एपमार्फत बिरामीहरूले मोबाइल फोन प्रयोग गरी ओपीडी टिकट बुकिङ, टाढैबाट अपोइन्टमेन्ट निर्धारण, र प्रयोगशाला रिपोर्ट डिजिटल रूपमा प्राप्त गर्न सक्नेछन्।
उक्त एपको मुख्य विशेषता भनेको नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डको प्रणालीसँगको सहज समन्वय हो । यस अन्तर्गत बीमितले आफ्नो बीमा स्थिति वास्तविक समयमा प्रमाणीकरण गर्न सक्ने, बीमा सुविधा अन्तर्गत स्वतः ओपीडी टिकट बुक गर्न सक्ने र प्राप्त बीमा अनुसार निःशुल्क सेवा उपभोग गर्न सक्ने जनाइएको छ ।
बी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले गुणस्तरीय स्वास्थ्य सेवा पहुँचयोग्य, सरल र प्रविधिमैत्री बनाउने प्रतिबद्धता पुरा गर्दै अब बिरामीलाई टिकट लिन वा रिपोर्ट खोज्न अस्पताल धाउनु पर्ने अवस्था नरहने बताएको छ ।
वि.सं. २०४९ माघ ५ गते स्थापना भई २०५५ कात्तिक ११ गतेदेखि स्वायत्त स्वास्थ्य विज्ञान विश्वविद्यालयको रूपमा सञ्चालनमा आएको बी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पूर्वी नेपालमा टिचिङ डिष्ट्रिक्ट मोडलमार्फत विभिन्न प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला तथा अञ्चल अस्पतालमार्फत सेवा विस्तार गर्दै आएको छ।
यो एपको शुभारम्भले डिजिटल स्वास्थ्य सेवा प्रवर्द्धनमा प्रतिष्ठानको प्रतिबद्धतालाई झनै बलियो बनाएको जनाएको छ।









