डा.सुनिल शर्माको पहलमा दाजु–बहिनीको निःशुल्क कलेजो प्रत्यारोपण सफल

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधिसभा सांसद डा. सुनिल शर्माको पहलमा काठमाडौं मेडिकल कलेजमा एक दाजु–बहिनीको निःशुल्क कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ ।

मोरङको बुडिगंगा गाउँपालिका–१ का ३६ वर्षीय विपिन विक्रम बिष्टले आफ्नी ३० वर्षीया बहिनी रक्षा बिष्टलाई कलेजो दान गरेर जीवनदान दिएका हुन् ।

रक्षा विगत सात वर्षदेखि गम्भीर कलेजो रोगसँग संघर्ष गर्दै आइरहेकी थिइन् । परिवारमा उपचारको खर्च जुटाउने अवस्था थिएन । यस्तो अवस्थामा डा. शर्माले देखाएको संवेदनशीलता र पहलले रक्षा बाँच्न सफल भएकी छन् ।

यो सफल प्रत्यारोपण काठमाडौं मेडिकल कलेजमा दोस्रोपटक भएको कलेजो सर्जरी हो, जसले नेपाली चिकित्सा क्षेत्रमा नयाँ उपलब्धिको इतिहास रचेको छ ।

सर्जरी डा. प्रविन विक्रम थापा, डा. रोशन घिमिरे, हेपाटोलोजिस्ट डा. सागर पौडेल र एनेस्थेसियोलोजिस्ट डा. सुजता निरौलासहितको दक्ष चिकित्सक टोलीले सफल बनाएको हो ।

रक्षाका बुबा भावुक हुँदै भन्छन्, ‘डा. सुनिल शर्मा मेरो परिवारका लागि भगवान बन्नुभयो । उहाँले हामीलाई आशा र जीवन दुवै फर्काइदिनुभयो ।’

डा. शर्मा काठमाडौं मेडिकल कलेजका सञ्चालक समेत हुन् । सांसद बनेदेखि हालसम्म उनले राज्यबाट तलब–भत्ता नलिएको उल्लेखनीय तथ्य पनि छ ।

उनी नियमित रूपमा देशका दुर्गम क्षेत्रहरूमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् । ती शिविरहरूमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याएर निःशुल्क उपचार गराउँदै आएका छन् ।

उनकै पहलमा नोबेल मेडिकल कलेजमा आफ्नो निर्वाचन क्षेत्रका लागि ५० शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ । यस्तै, मोरङको बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गरेका उनी निजी पहलमा देशभर सात वटा एम्बुलेन्स सेवा सुरु गरिसकेका छन् ।

पार्टी वा पहिचानको आधारमा नभई सबै नेपाली नागरिकलाई समान रूपमा सेवा दिने प्रतिबद्धता दोहोर्‍याउने डा. शर्मा जनताको नजरमा ‘नेता भनेको साँचो अभिभावक’ भन्ने छविमा स्थापित भइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − twelve =