१३ महिना लड्दा पनि स्वास्थ्यमा जनशक्ति थप्न सकिनँ : मन्त्री पौडेल (भिडिओ)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आफू १३ महिनादेखि निरन्तर पैरवी गर्दा पनि स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्ति थप गर्न नसकेको भन्दै गहिरो असन्तुष्टि र गुनासो व्यक्त गरेका छन् । नेपाल औषधि उत्पादक संघको ३१ औं वार्षिक साधारण सभालाई काठमाडौँमा सम्बोधन गर्दै उनले यस्तो गुनासो गरेका हुन् ।

उनले वि.सं. २०४८ सालपछि नेपाली सेना, नेपाल प्रहरी र निजामती सेवामा जनशक्तिको संख्या उल्लेख्य रूपमा बढे पनि स्वास्थ्य क्षेत्रमा पूर्वराष्ट्रपति डा. रामवरण यादवको कार्यकालपछि एक जना पनि जनशक्ति थप नहुनु दुर्भाग्यपूर्ण रहेको बताए । यसले स्वास्थ्य क्षेत्र राज्यको प्राथमिकतामा पर्न नसकेको प्रष्ट देखाउने उनको तर्क थियो ।

मन्त्री पौडेलले राज्यकै लगानीमा उत्पादित दक्ष जनशक्तिलाई देशले उपयोग गर्न नसक्ने विडम्बनापूर्ण अवस्था रहेको बताए । उनले भने, ‘५० लाख नागरिकले अहिले पनि अस्पताल गएर उपचार गर्न सक्दैनन् । सरकारले जम्मा ५ प्रतिशत पनि लगानी गरेको छैन । आज २०४८ सालपछि सेनामा कति संख्या बढ्यो, प्रहरीमा कति संख्या बढ्यो ? निजामतीमा कति संख्या बढ्यो? तर रामवरण यादवको पालापछि आजसम्म स्वास्थ्य क्षेत्रमा जनशक्ति बढेको छैन । १३ महिना भयो मैले यसको लागि प्रयास गरेको, अझै पनि डिबेट गरिरहनुपरेको छ । डाक्टर छन्, तर आवश्यकता भएर पनि हामीले उनीहरूलाई जागिर दिन सकिरहेका छैनौँ। नेपाल यस्तो देश हो, जसले छात्रवृत्तिमा पढाएर डाक्टर बनाउँछ, प्रशिक्षण दिन्छ अनि त्यही दक्ष जनशक्ति विदेश पठाउँछ ।’

यसका साथै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि ‘औषधि सुशासन’ अनिवार्य रहेकोमा जोड दिए । उनले औषधिको मूल्य प्रभावकारी रूपमा निर्धारण हुनुपर्ने र सरकारले नागरिक स्वास्थ्य बीमा प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन चाहेको पनि बताए । राजनीतिप्रति जनतामा देखिइरहेको अविश्वासको मुख्य कारण सरकारले परिणाम दिन नसक्नु नै रहेको उनले स्वीकार गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − four =