कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी, बोर्डको बैठक सुरू

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी थालेको छ । यसका लागि बोर्डको सानोठिमीस्थित केन्द्रीय कार्यालयमा बैठक सुरू भएको छ ।
बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार बैठक सकिएलगत्तै नतिजा सार्वजनिक गरिनेछ । ‘नतिजा प्रकाशन सम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको छ,’ अध्यक्ष शर्माले भने ‘आजै नतिजा सार्वजनिक गर्ने योजना छ ।’
गत वैशाखमा सम्पन्न कक्षा १२ को वार्षिक परीक्षामा देशभरका ५ हजार २०२ विद्यालयका ५ लाख ११ हजार विद्यार्थी सहभागी भएका थिए । तीमध्ये नियमिततर्फ ३ लाख ९५ हजार र आंशिकतर्फ १ लाख १५ हजार परीक्षार्थी रहेका थिए ।
शिक्षकहरूको आन्दोलनका कारण परीक्षा सुरु हुने मिति प्रभावित भएको थियो । वैशाख ११ गतेदेखि सुरु हुने भनिएको परीक्षा १० दिन ढिला गरी वैशाख २१ गतेदेखि सञ्चालन गरिएको थियो ।
परीक्षाफल सार्वजनिक भएपछि विद्यार्थीहरूले https://neb.ntc.net.np, https://neb.gov.np लगायतका वेबसाइटमार्फत नतिजा हेर्न सक्ने छन् । साथै, एसएमएस र विभिन्न मोबाइल एपहरूबाट पनि नतिजा थाहा पाउन सकिनेछ ।








