१६ जनाको हायु परिवारले तय गरेको पोखरासम्मको अनौठो यात्रा (भिडिओ)

जङ्गलले ढाकिएको एकान्त ठाउँमा घर छ । भाँडाकुँडा छरपस्ट छन् । खरले छाएको भान्साघर जलेको छ । घर पालुवा पशुपन्छी भोकले कराइरहेका छन् । नपकाएको मासु गन्हाएको छ । १८ जनाले भरिएको त्यो सोमबार स्थानीयले शून्य अवस्थामा देखे ।

सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६, छेत्पामा बस्दै आएको एउटा हायू परिवारै रहस्यमय रूपमा सम्पर्कविहीन भएको खबर एकाएक फैलियो । श्रीमान् बितेपछि ५२ वर्षीया उर्मिला हायूको छत्रछायाँमा परिवार चलेको थियो ।

यही परिवार चार दिनदेखि हराइरहेको भन्दै स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि देश नै अच्चममा प¥यो । सोमबार बिहान छेत्पा शान्त गाउँ सामान्य झैँ देखिएको थियो । तर उर्मिला हायूको घर सुनसान थियो । गाउँलेहरू चकित थिए– कहाँ गए त उनीहरू ? हायू परिवारका १६ सदस्यहरू, जुन घर सधैँ मान्छेले भरिएको हुन्थ्यो, एक्कासि सम्पर्कविहीन भए । न त फोन लाग्यो, न त कसैले बाटो देखे । सोमबार दिनभर हायु परिवारको खोजीमा प्रहरी, स्थानीय र मिडियाहरू लागे ।

दिनभर मिडियाको हेडलाइन बनेका उनीहरू अन्ततः साँझ पोखरामा भेटिए । पोखरा महानगरपालिका–३० को गगनगौंडामा सोमबार साँझ एउटा असाध्यै साधारण घरमा अनौठो चहलपहल देखियो । दुई घर, दुई जना घरधनी, तर एकै परिवारका १६ जना सदस्यहरू बसेको अवस्थामा भेटिए । उनीहरू सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा कोठा भाडामा लिएर बसेको अवस्थामा भेटिएका थिए । ‘हामीले सोमबार साँझ उनीहरूलाई फेला पारेका हौँ,’ कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलिया भन्छन्, ‘सबै जना सुरक्षित छन् ।’ एक दिन पहिला उनीहरू लेकसाइडको ‘जननी’ होटलमा तीन वटा कोठा लिएर बसेका थिए ।

तर भोलिपल्ट बिहानै, होटल छाडेर उनीहरू गुमनाम भएर उनीहरू गगनगौंडा पुग्छन् । ‘हामी ज्यामी काम गर्न आएका हौँ,’ भनेर स्थानीय घरधनीलाई उनीहरूले आश्वस्त पारेको प्रहरी बताउँछन् । निरन्तरको बिरामी र धामीझाँक्रीको सल्लाहले आफ्नो थातथलो नै छाडेर पोखरा आइपुगेको हायु परिवारका सदस्यहरू बताउँछन् ।

प्रहरीसँगको प्रारम्भिक सोधपुछमा उनीहरूले घरमा लामो समयदेखि परिवारका सदस्यहरू, विशेष गरी केटाकेटीहरू, बिरामी परिरहने समस्याले सताएको बताएका छन् । उनीहरूका अनुसार, स्थानीय धामीले ‘यो ठाउँमा नबस्नू, बसाइँ सर्नू’ भनेर सल्लाह दिएपछि सम्पूर्ण परिवारले गाउँ नै छाड्ने निर्णय गरेको हो ।

यद्पी गगन गौडामा भेटिएका उर्मिला हायूका परिवारलाई आफन्तको जिम्मा लगाइएको छ । हायु परिवारका ज्वाइँ नाता पर्ने धनबहादुर तामाङको जिम्मा लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए । उनीहरूलाई पोखरा महानगरपालिका–३० का वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीको रोहबरमा आफन्तको जिम्मा लगाइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 3 =