खड्गभवानी कोत आन्तरिक पर्यटकको आकर्षक गन्तव्य

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ मा पर्ने ऐतिहासिक खड्गभवानी कोत आन्तरिक पर्यटकहरूको गन्तव्य बनेको छ ।

गण्डकी प्रदेश सरकार, बेनी नगरपालिका र पुरातत्त्व विभागको आर्थिक लगानीमा कोत परिसरमा पूर्वाधार निर्माण भएपछि ६०० वर्ष पुरानो ऐतिहासिक स्थल खड्गभवानी कोतमा आन्तरिक पर्यटकहरूको सङ्ख्या बढेको हो ।

खड्गभवानी कोतमा मन्दिर, पदमार्ग, तारबार, पटाङ्गिनीलगायत पूर्वाधारहरू निर्माण भएका छन् । गण्डकी प्रदेश सरकारको १५ लाख, बेनी नगरपालिकाको ७५ लाख, पुरातत्त्व विभागको १० लाख र अन्य निकायको १२ लाख गरी यहाँ एक करोड १० लाख बढी लगानीमा धार्मिक र पर्यटकीय महत्वको पूर्वाधार निर्माण भएका छन् ।

त्यसैगरी सापकोटा बन्धुहरूले करिब २४ लाखको लगानीमा दुर्गा भगवती मन्दिर निर्माण गरेका छन् भने बगाले थापाहरूले दुर्गा मन्दिर र खड्गभवानी कोत तथा गुठी व्यवस्थापन समितिले गणेश मन्दिर निर्माण गरेका खड्गभवानी कोत तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर सुवेदीले जानकारी दिएका छन् ।

कोत परिसरको पटाङगिनीमा स्लेट ढुङ्गा विछ्याएर चिटिक्क पारिएको छ । चारैतिर धुपि र सल्लाका रुखको हरियाली र उत्तरतर्फ धौलागिरि, नीलगिरिलगायतका नौ वटा हिमशृङ्खलाहरुले यहाँ पुग्ने जो कोहीलाई आकर्षित गर्ने बेनी नगरपालिका–२ ज्यामरुककोटका वडाध्यक्ष यामबहादुर कार्कीले बताए । यहाँबाट दक्षिणतर्फ बागलुङको चर्चित धार्मिक तथा पर्यटकीयस्थल पञ्चकोटको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ ।

वि.सं १२४६ देखि १५४५ सम्म थापा खलकले राज्य गरेका ज्यामरुककोटमा तत्कालीन पर्वत राज्यको विस्तारसँगै पर्वत राज्यका शक्तिशाली राजा दिलिपवम (डिम्ब) मल्लका सन्तान भर्दिवम मल्लको समयमा सामरिक क्षेत्र बनेको इतिहासमा उल्लेख छ ।

कूल ४२ रोपनी क्षेत्रफलमा रहेको कोत परिसरमा मल्लकालीन इतिहास, तोप, खुँडा र तरबारलगायतका हातहतियार, प्राचीन शिला र इँट्टा, खजाना लुकाउने ठाउँ र पानीका लागि बनाइएको राजकुवा ऐतिहासिक प्रमाण स्वरूप अझै आकर्षणका रूपमा रहेका छन् ।

बेनी नगरपालिकाको पाँच लाख र वडा कार्यालयको दुई लाख विनियोजित बजेटबाट कोत परिसरमा २१० मिटर घेराबार, दुई मिटर बाटो ढलान, पटाङ्गिनी निर्माण, नाग थान र मौलो राख्ने ठाउँको मर्मत गरिएको ज्यामरुकोट क्षेत्र विकास तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष सुवेदीले जानकारी दिए ।

‘ऐतिहासिक स्थलको पूर्वाधारलाई सुरक्षित गरी धार्मिक र पर्यटकीयस्थल बनाउने उद्देश्य अनुरूप काम गरिरहेका छौँ’, वडाअध्यक्ष कार्कीले भने, ‘गौश्वारमा निर्माणाधीन गोवद्र्धन धाम र पञ्चकोट धामको सामुन्नेमा रहेको ऐतिहासिक खड्गभवानी कोतलाई धार्मिक पर्यटकीय धाम बनाउने योजनासहित काम भइरहेको छ’, अध्यक्ष कार्कीले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 1 =